बारा । जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको नगर कमिटी बैठकले बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको हो ।

माओवादी केन्द्रका जीतपुर सिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिए । ‘नगरकमिटी बैठकमा सबैको सहमतिमा राजन पौडेलको एक्लो नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं,’ उनले भने ।
उपमहानगरको प्रमुखका लागि माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य जयराम दहाल, केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ (अनिल), मधेस प्रदेश सदस्य गीता कंडेल, वडाध्यक्ष रामशरण बर्तौलासहित १० जनाले दाबी गर्दै आएका थिए ।
तर, अन्त्यमा अधिकांश नगरकमिटी सदस्यहरुले पौडेलको नाम सिफारिस हुनुपर्छ भनेर दबाब दिएपछि उनको एक्लो नाम सिफारिस गरेर पठाइएको अध्यक्ष बरालले जनाए ।














