काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । डेनमार्कविरुद्ध बिहीबार हुने यूईएफए नेसन्स लिगको खेलअघि रोनाल्डोले टोलीको क्याम्प छाडेका हुन् ।

पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुसले डेनमार्कविरुद्धको खेलमा रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने बताएका केही समयपछि रोनाल्डोले क्याम्प छाड्ने निर्णय सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिँदै यसका कारणबारे ‘उचित समयमा’ बताउने बताएका छन् ।
‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासङ्घका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु,’ रोनाल्डोले लेखेका छन् । उनले पोर्चुगल र आफ्ना सबै सहकर्मीलाई आगामी खेलका लागि शुभकामना पनि दिएका छन् ।
रोनाल्डोले पछिल्लो पटक पोर्चुगलले वेल्सलाई १-० ले हराउँदा सुरुआती टोलीबाट खेलेका थिए । त्यस खेलमा उनी ६७औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । त्यसपछि नर्वेविरुद्धको २-१ को जितमा भने उनले खेलेनन् । नर्वेविरुद्धको खेलपछि उनले टोलीसँग सामूहिक प्रशिक्षण पनि गरेका थिएनन् ।
यसबीच प्रशिक्षक जेसुस र रोनाल्डोबीच विवाद भएको हुन सक्ने चर्चा चलेको थियो । तर जेसुसले भने आफू र रोनाल्डोबीच कुनै समस्या नरहेको दाबी गरेका छन् ।
नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई लामो समय वार्मअप गराएर पनि मैदानमा नउतारेको विषयमा भने जेसुसले त्यो आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । उनले रोनाल्डोजस्तो करिअर र इतिहास बनाएका खेलाडीलाई प्रशिक्षकले फरक किसिमको ध्यान दिनुपर्ने बताएका छन् ।
रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले पोर्चुगलका लागि १४६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । आफ्नो व्यावसायिक करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यतर्फ अघि बढिरहेका रोनाल्डोको कुल गोलसंख्या ९७८ पुगेको छ ।
नेसन्स लिगको समूह ‘ए४’ मा पोर्चुगल दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ। डेनमार्क र नर्वेको तीन/तीन अङ्क छ भने वेल्स अङ्कविहीन छ । पोर्चुगलले डेनमार्कसँगको खेलपछि आइतबार नर्वेको समेत सामना गर्नेछ ।














