पर्सा । पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीबीच प्रतिस्पर्धा हुने भएको छ । सरावगी र सिंहबीच यसअघिको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)बाट मेयरमा निर्वाचित सरावगीले एमाले प्रवेश गरेर दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन् । जसपाबाट पुनः मेयरमा टिकट पाउने सम्भावना नदेखेपछि उनी पार्टी परित्याग गरेर एमालेबाट मेयरको उम्मेदवार बनेका हुन् ।
यस्तै सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट पराजित भएका थिए । उनी चुनावको मुखमा जसपा प्रवेश गरेका हुन् भने जसपाले नवप्रवेशी सिंहलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो । वीरगञ्जको उपमेयर पदका उम्मेदवार भने गठबन्धन र एमाले दुबैले टुंगो लगाएको छैन ।














