डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउँछन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’ गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन् ।

घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले बताए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ ।
दीपकजस्तै अमरगढी-७ का शिवराज भट्टराईले पनि पेन्टिङबाट आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका हुन् । हाल यसैलाई मुख्य पेसा बनाएका छन् ।
शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक रु २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए । आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ ।
यसैगरी, अमरगढी-७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन्। रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम थालेका हुन् । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन् । उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाएका छन् ।
यी युवाको अनुभवले पढाइ र रोजगारी सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पुर्याउन सक्ने देखाउँछ।स्थानीय स्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।















