बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । शनिबार एमाले र राष्ट्रिय जनमुक्ति पार्टी नेताहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।

सहमतिअनुसार उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, १९ वटै वडा अध्यक्ष समेत ८६ पदहरूमा नेकपा एमाले र ११ जना वडा सदस्यहरू राष्ट्रिय जनमुक्ति पार्टीबाट उठाइने भएको छ ।
नगरप्रमुख, उपप्रमुख, १९ वटा वडाका अध्यक्ष र सदस्य गरी बुटवलमा ९७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । दुई पार्टीबीच भएको सहमतिअनुसार निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरूसमेत दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको एमालेका बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले बताए ।
यसअघिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेको राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा आफू तेस्रो ठूलो दलको रूपमा रहेको दाबी गर्दै आएको छ ।














