काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ओलीले दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । बस्नेतको आजै पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने छ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक सङ्घर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो ।
उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।














