Logo
Logo

काठमाडौं र पोखरामा विवादित उम्मेदवार



काठमाडौं । नेकपा (एमाले)ले काठमाडौं र पोखरा महानगरपालिकाको मेयरमा विवादित व्यक्तिलाई टिकट दिएको छ । यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई एमालेले काठमाडौँको मेयरको टिकट दिएको हो । चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले स्थापितमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए ।

दुव्र्यवहारबारे विश्वभरका महिलाले ‘मी टू’ अभियानका क्रममा आवाज उठाएका बेला प्रजापति र महर्जनले स्थापितबाट भएका यौन दुव्र्यवहारको घटना बाहिर ल्याएका थिए । यौन दुव्र्यवहारको आरोप लागेका व्यक्तिलाई टिकट दिएको भन्दै एमालेको चौतर्फी आलोचना भइरहेको छ । स्थापितको उम्मेदवारीलाई धेरैले एमालेले महिलामाथि गरेको अपमानको रुपमा लिएका छन् । केहीले एमालेमा इमान्दार उम्मेदवारको खडेरी परेको हो भन्दै प्रश्नसमेत गरेका छन् ।

अधिकारका पक्षमा दह्रो कुरा उठाउने एमालेका महिला नेतृहरू चुप बसेकोमा समेत आलोचना भइरहेको छ । प्रजापतिले चार वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापितलाई यौन दुव्र्यहारको आरोप लगाएकी थिइन् । स्थापितले राखेको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको उनले बताएकी थिइन । स्थापितको प्रस्ताव अस्वीकार गरेकै कारण जागिर (शाखा अधिकृत)बाट निकालिनु परेको उनको दुखेसो छ । यौन दुव्र्यवहारको आरोप लाग्दा स्थापित वागमती प्रदेश सरकारको भौतिक योजनामन्त्री थिए । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र दुव्र्यवहार गरेपछि स्थापितलाई उनले बर्खास्त गरेका थिए ।

यस्तै, एमालेले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार उठाएको कृष्णबहादुर थापा पनि विवादित व्यक्ति हुन् । यसअघि एमाले सचिवालयले दीपक पौडेललाई पोखराको मेयरको टिकट दिने निर्णय गरेपनि एक गहना पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको टिकट खोसिएको थियो । तर, एमालेले पौडेलको टिकट खोसेर अघि सारेको नयाँ उम्मेदवार पनि विवादित व्यक्ति हुन् ।

तत्कालीन नेकपाका प्रदेश कमिटी सदस्य एवं कास्की जिल्ला अध्यक्ष रहेका थापाले जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई विनासर्त रिहा गर्न विज्ञप्ति निकालेपछि चर्को आलोचना भएको थियो । पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा थापाले क्षेत्री समुदायको पक्षपोषण हुने गरी ०७७ वैशाख २४ गते विज्ञप्ति निकालेका थिए ।

प्रेस विज्ञप्तिमा उनले दुईजनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाएका थिए । ‘केही उच्छृंखल तत्वहरुले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ’ उनले विज्ञप्तिमा भनेका थिए । आलोचना बढ्दै गएपछि पार्टीभित्रकै दलित नेता तथा संगठनले थापालाई कारबाही गर्न उजुरी नै दिएका थिए । त्यसपछि थापाले कुनै जाति विशेषको पक्ष वा विपक्षमा बोल्ने आफ्नो मनसाय नरहेको विज्ञप्तिमा जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्