Logo
Logo

एनपीएलमा टप फोरको दौडः प्लेअफ पुग्ने चार टिम कुन-कुन ?


0
Shares

काठमाडौं । एनपीएलको लिग चरण आधाभन्दा बढी सकिएको छ । अब प्रतियोगिता बिस्तारै निर्णायक मोडमा प्रवेश गर्दैछ । शीर्ष चारको दौड पनि उत्तिकै रोचक हुँदै गएको छ । अहिलेसम्म कसैले पाँच खेल खेलिसकेका छन् त कसैले चार खेल मात्रै खेलेका छन् ।

आठ टिम सहभागी एनपीएलमा लिग चरणमा प्रत्येकले सात खेल खेल्नुपर्नेछ । पाँच खेल खेल्नेमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स छन् । काठमान्डु गुर्खाज, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सले भने चार-चार खेल खेलेका छन् । अब भने हरेक खेलको नतिजा महत्त्वपूर्ण बन्दै गएको छ । एउटा जितले टिमलाई शीर्ष चारको नजिक पु¥याउन सक्छ । एउटा हारले भने प्लेअफको दौडबाटै पछि धकेल्न सक्छ ।

अहिलेसम्मको अंक तालिका हेर्ने हो भने लुम्बिनी लायन्स सात अंकसहित शीर्ष स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको काठमाडौं गोर्खाज दोस्रो स्थानमा छ। पाँच खेलबाट ६ अंक नै भएको सुदूरपश्चिम रोयल्स तेस्रोमा छ । चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा छ । चर, चौथो स्थानमा रहेको चितवनले ढुक्क हुने अवस्था छैन । पाँचौँ स्थानको जनकपुर बोल्ट्स र छैटौँ स्थानको कर्णाली याक्स पनि चार–चार अंकमा छन् । विराटनगर किंग्सको पनि चार अंक नै छ । अर्थात् अहिलेको अंकतालिकामा शीर्ष चारभित्र रहेका टिमको स्थान सुरक्षित भइसकेको छैन। अझै बाँकी खेलले समीकरण उल्ट्याउन सक्छ ।

लुम्बिनी लायन्सको कुरा गरौँ। पाँच खेलबाट तीन जित, एक हार र एउटा नतिजाविहीन खेलसहित सात अंक जोडेको लुम्बिनी अहिले सबैभन्दा बलियो अवस्थामा छ । अब उसले कर्णाली याक्स र विराटनगर किंग्ससँग खेल्न बाँकी छ । यी दुईमध्ये एउटा खेल मात्रै जिते पनि लुम्बिनीको अंक नौ पुग्नेछ । दुवै खेल जिते ११ अंक हुनेछ । त्यसैले लुम्बिनीलाई प्लेअफमा पुग्न अब एउटा जित पर्याप्त हुन सक्ने देखिन्छ । तर दुवै खेल हारेमा भने अरू टिमको नतिजा कुर्नुपर्ने अवस्था आउन सक्छ ।

काठमाडौं गोर्खाजको अवस्था पनि निकै राम्रो छ । सुरुवाती खेलमा हार बेहोरेको काठमाडौंले त्यसपछि लगातार तीन जित निकाल्दै आफूलाई अब्बल देखाएको छ । चार खेलबाट ६ अंक जोडेको काठमाडौंले अब चितवन, सुदूरपश्चिम र पोखरासँग खेल्न बाँकी छ । तीन खेलमध्ये एउटा मात्रै जिते पनि आठ अंक पुग्नेछ । दुई खेल जिते १० अंक हुनेछ । तीनै खेल जिते १२ अंकसहित शीर्ष स्थानमै पुग्न सक्छ ।
काठमाडौंका लागि चितवन र सुदूरपश्चिमसँगको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

किनकि यी दुवै टिम पनि प्लेअफको दाबेदार हुन् । काठमाडौंले यी दुईमध्ये कुनै एकलाई हराउँदा आफ्नो अंक मात्रै बढाउने छैन, प्रतिस्पर्धीको अंक पनि रोक्नेछ । त्यसैले काठमाडौंको आगामी खेलले प्लेअफको समीकरणमा ठूलो प्रभाव पार्नेछ । अघिल्ला संस्करणमा बलियो छाप छोडेको सुदूरपश्चिम रोयल्स यसपटक पनि प्लेअफको दौडमा छ । पाँच खेलबाट तीन जित र दुई हार बेहोरेको सुदूरपश्चिमको खातामा ६ अंक छ । अब उसले जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग खेल्न बाँकी छ । दुवै खेल जिते उसको अंक १० पुग्नेछ । एउटा मात्रै जिते आठ अंक हुनेछ । त्यसैले सुदूरपश्चिमले कम्तीमा एउटा खेल जित्नैपर्ने देखिन्छ । दुवै खेल जित्न सके प्लेअफको टिकट लगभग पक्का हुनेछ ।

तर, सुदूरपश्चिमका लागि दुवै खेल सजिला छैनन् । जनकपुर र काठमाडौं दुवै जितको खोजीमा छन् । एउटा खेलमा चुक्दा अर्को खेलको दबाब झन् बढ्नेछ । अनुभव र टिमको सन्तुलन सुदूरपश्चिमको बलियो पक्ष हो । तर अब नाम र विगतको प्रदर्शनले मात्रै पुग्दैन । मैदानमा नतिजा निकाल्नैपर्छ ।

चितवन राइनोज अहिले पाँच अंकसहित चौथो स्थानमा छ । दुई जित, एक हार र एउटा नतिजाविहीन खेल चितवनको खातामा छ । तर उसको अगाडिको बाटो सहज छैन । अब चितवनले काठमाडौं, जनकपुर र कर्णालीसँग खेल्न बाँकी छ । तीनमध्ये दुई खेल जिते नौ अंक पुग्नेछ । तीनै खेल जिते ११ अंक हुनेछ । त्यसैले चितवनले कम्तीमा दुई जित निकाल्न सके प्लेअफ सम्भावना बलियो बनाउन सक्छ ।

चितवनका लागि सबैभन्दा महत्त्वपूर्ण खेल काठमाडौंसँगको हुनेछ । त्यसपछि जनकपुर र कर्णालीसँगको भिडन्त पनि निर्णायक बन्न सक्छ । चितवनले यी खेलमा गल्ती ग¥यो भने अहिलेको चौथो स्थान गुम्न सक्छ । अझै तीन खेल बाँकी भएकाले चितवनसँग आफूलाई सुरक्षित गर्ने अवसर पनि उत्तिकै छ ।

यता जनकपुर बोल्ट्सका लागि भने अब गल्ती गर्ने छुट छैन । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ । अब उसले सुदूरपश्चिम र चितवनसँग खेल्न बाँकी छ । दुवै खेल जिते आठ अंक पुग्नेछ । एउटा मात्रै जिते छ अंकमा सीमित हुनेछ । त्यसैले जनकपुरका लागि दुवै खेल फाइनलसरह हुनेछ । तर, जनकपुरले हराउनुपर्ने दुवै टिम अहिले राम्रो प्रदर्शन गरिरहेको छ । दुवै टिम शीर्ष चारभित्रै छन् । सुदूरपश्चिम र चितवनलाई हराउन सके जनकपुरले आफ्नो सम्भावना मात्रै बढाउने छैन, उनीहरूलाई पनि दबाबमा पार्नेछ । त्यसैले जनकपुरको आगामी दुई खेलले अंकतालिकामा ठूलो उथलपुथल ल्याउन सक्छ ।

कर्णाली याक्सलाई भने अझै तीन खेल खेल्ने अवसर छ । चार खेलबाट चार अंक जोडेको कर्णालीले पोखरा, लुम्बिनी र चितवनसँग खेल्न बाँकी छ । यी तीनै खेल जिते कर्णालीको अंक १० पुग्नेछ । दुई खेल जिते आठ अंक हुनेछ । त्यसैले कर्णालीसँग प्लेअफमा पुग्ने सम्भावना अझै बलियो छ । तर त्यसका लागि अब लगातार राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

कर्णालीका लागि पोखरासँगको खेल जित्नैपर्ने खालको छ । त्यसपछि लुम्बिनी र चितवनसँगको भिडन्त कठिन हुनेछ । लुम्बिनी शीर्ष स्थानमा छ भने चितवन पनि प्लेअफको प्रतिस्पर्धी हो । यी खेलमा कर्णालीले जित निकाल्न सके अंकतालिकाको समीकरण बदलिन सक्छ । तर हारको शृंखला सुरु भयो भने प्लेअफको सपना कठिन बन्नेछ ।

चार अंक नै भएको विराटनगर किंग्सको अवस्था पनि रोचक छ । विराटनगरले पोखरा र लुम्बिनीसँग खेल्न बाँकी छ । दुवै खेल जिते आठ अंक पुग्नेछ । तर एउटा मात्रै जिते छ अंक हुनेछ । विराटनगरको अर्को समस्या नेट रनरेट हो । अहिले उसको नेट रनरेट माइनसमा छ । अंक बराबर भएका टिमबीच प्रतिस्पर्धा हुँदा यही कमजोर नेट रनरेट बाधक बन्न सक्छ । त्यसैले विराटनगरले खेल जितेर मात्रै पुग्दैन, सम्भव भएसम्म ठूलो अन्तरको जित निकाल्नुपर्नेछ ।

सबैभन्दा कठिन अवस्थामा भने पोखरा एभेन्जर्स देखिएको छ । पोखरा प्लेअपबाट बाहिसक्यो भन्दा पनि फरक पर्दैन । चार खेल खेलेर चारै खेल हारेको पोखराको खातामा शून्य अंक छ । अब उसले कर्णाली, विराटनगर र काठमाडौंसँग खेल्न बाँकी छ । तीनै खेल जिते पनि पोखराको अधिकतम अंक ६ मात्रै पुग्नेछ । त्यसैले पोखरालाई प्लेअफमा पुग्न अब चमत्कार नै चाहिन्छ । आफ्ना सबै खेल जितेर मात्रै पुग्दैन, अरू टिमको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ ।

अब कुरा गरौँ प्लेअफमा पुग्ने चार टिम कुन–कुन होलान् रु अहिलेसम्मको प्रदर्शन, अंकतालिका र बाँकी खेलको समीकरण हेर्दा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज सबैभन्दा बलियो अवस्थामा देखिन्छन् । सुदूरपश्चिम रोयल्सको पनि सम्भावना बलियो छ । चौथो स्थानका लागि भने चितवन राइनोज र कर्णाली याक्सबीच कडा प्रतिस्पर्धा हुन सक्ने देखिन्छ । यद्यपी, जनकपुर र विराटनगरलाई पनि पूर्ण रूपमा बाहिर राख्न मिल्दैन ।

अहिलेको अवस्था हेर्दा लुम्बिनी, काठमाडौं, सुदूरपश्चिम र चितवन प्लेअफमा पुग्ने सम्भावना बढी देखिन्छ । तर चितवनले बाँकी खेलमा अपेक्षित नतिजा निकाल्न नसके कर्णालीले उसको स्थान खोस्न सक्छ । जनकपुरले पनि लगातार दुई जित निकाल्न सके समीकरण उल्ट्याउन सक्छ ।

यसपाली आठ अंक प्लेअफका लागि प्रतिस्पर्धात्मक आधार बन्न सक्छ । तर, आठ अंक पुग्दैमा प्लेअफ पक्का हुन्छ भन्ने छैन । अंक बराबर भए नेट रनरेटले पनि निर्णायक भूमिका खेल्नेछ । त्यसैले अब टिमहरूले जित मात्रै होइन, जितको अन्तरलाई पनि ध्यान दिनुपर्नेछ । अब एनपीएलमा खेल मात्रै होइन, हरेक रन र हरेक विकेटको पनि हिसाब हुनेछ । किनकि अब एउटा हार सामान्य हार हुनेछैन । त्यो प्लेअफको सपना टुट्ने सुरुवात पनि हुन सक्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000