बागलुङ । बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नगरपालिकाको मेयरमा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । यससँगै एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गर्नेछन् ।

सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको नेताहरुले बताएका छन् ।
त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ । अन्य पदम भने राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताए । उनका अनुसार जिल्लाका अरु स्थानीय तहमा समेत राप्रपासँग मिलेर जाने सहमति भएको छ ।











