काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच देखिएको विवाद समाधानका लागि ९ सदस्यीय उपसमिति गठन भएको छ । सो समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको समेत वायुसेवा सञ्चालक संघले जनाएको छ ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित वायु सेवा सञ्चालक संघ र प्राधिकरणका प्रतिनिधिबीच वार्तापछि सो सहमति भएको हो ।
आन्तरिक उडानलाई दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहित स्लट पठाएपछि हवाई सेवा कम्पनीहरु आन्दोलित भएका थिए । उनीहरुले सो निर्णय अमान्य हुने बताउँदै निर्णय फिर्ता नगरे आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए ।











