तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि नेकपा एमाले नेतृत्वमा भएको गठबन्धनलाई पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।
तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवारको परिचयात्मक कार्यक्रममा बोल्दै नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिका बीचको पवित्र गठबन्धन भएको बताउँदै एमाले नेतृत्वमा भएको गठबन्धनलाई प्रतिगामी बताएका हुन् । उनले लोकतन्त्र र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूबीच गठबन्धन भएको समेत दावी गरे ।

उनले भने, ‘सत्तारुढ दलहरूका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको छ । तर, केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी हो ।’ नेता पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।
‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न हुँदैन । विकास र राजनीतिलाई लिएर जान काँग्रेस चाहन्छ’ उनले भने, ‘गाउँको विकास र लोकतन्त्र जोगाउँछौ । लोकतन्त्र संविधान जोगाउन गठबन्धन गरेको हो । राजनीति स्थायी गरेर विकासको बाटो डोर्याउन गठबन्धन गरिएको हो ।’











