
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताद्वय वर्षमा पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’लाई प्रतिस्पर्धी नेताको रुपमा हेरिन्छ ।
पछिल्लो महानधिवेशनमा पनि यी दुई नेता नै महासचिवका बलियो प्रतिस्पर्धी थिए । तर, यी दुई नेतालाई एकै ठाउँमा विरलै भेटिन्छन् । आइतबार भने अनन्त र प्रभाकरलाई एकै ठाउँमा देखियो ।
आइतबार अनन्त र प्रभाकरले सिंहदरबार नजिकैको होटलको एउटै टेबलमा सँगै खाना खाँदै कुराकानी गरेका छन् ।
बजेट निर्माणबारे पूर्व अर्थमन्त्रीहरुसँग छलफलका क्रममा प्रभाकरले अनन्तलाई भेट्न बोलाएका हुन् । अर्थमन्त्री समेत रहेका प्रभाकर पछिल्लो समय बजेट निर्माणका लागि विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव र पूर्व अर्थमन्त्रीहरुसँग छलफलमा व्यस्त छन् ।
माओवादीका महासचिवका दावेदार यी दुई नेताको सम्बन्धन खासै राम्रो नरहेको चर्चा हुने गरेको छ ।
माओवादीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समिति मात्रै चुन्यो । माओवादीको विधानअनुसार केन्द्रीय समितिले पदाधिकारी चुन्ने व्यवस्था छ । महाविधेशन लगत्तै निर्वाचन आएकाले माओवादीले पदाधिकारी चुन्न सकेको छैन ।











