काठमाडौं । निर्यात प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले काठमाडौंमा आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवर्द्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवर्द्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने उनले बताए ।
डा. खतिवडाले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडकदेखि जलविद्युत सबै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’ आयात घटाउँदै जाने र निर्यात प्रवर्द्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्न उनले सुझाव दिए ।
मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै डा. खतिवडाले सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य वस्तुहरुको अभावसँगै मूल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको उनको भनाइ छ ।
मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने डा. खतिवडाले बताए । घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने पनि त्यसले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने डा. खतिवडाले बताए ।
अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले व्यवहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाको भरमा वस्तुहरुको आयात रोकेको तर्क गरे ।
आफूहरुले आयातलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उनको भनाइ छ । कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसँग छलफल तथा अध्ययनपछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
आन्तरिक उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्नका लागि राज्यको नीति प्रभावकारी हुनुपर्ने उनले बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि विलासिताका वस्तुको आयात नियन्त्रण गरिएको बताए ।
यद्यपी यो अल्पकालीन भएको कार्कीले बताए । आफूहरु निजी क्षेत्र विरोधी नभएको भन्दै उनले आयातलाई दीर्घकालसम्म असर नगर्ने गरी सरकारले निर्णय गरेको बताए । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले केही वस्तुको आयात रोकेको कार्कीको भनाइ छ ।
कार्यक्रममा अर्थविद् विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसीलगायतले मुलुकको अर्थतन्त्रमा केही चाप परेपनि अल्पकालीन भएको बताए । युथ चेम्बरका अध्यक्ष दीपेशरत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन खोजिएकोे बताए ।
युथ चेम्बरले नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती एवं समाधानका विषयमा गरेको गोष्ठिलाई किसान पाईपले प्रायोजन गरेको हो ।












