सुर्खेत । सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । गएराति सुर्खेतको सिम्ता गाउँपालिका–६ का कांग्रेसका वडा अध्यक्ष उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेपछि दुई पक्षबीच झडप भएको हो ।

झडपका क्रममा वडा अध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र उनका समर्थक सुरजसिंह ठकुरी घाइते भएका छन् । आक्रमणमा संलग्नहरूको अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका कांग्रेसका उम्मेदवारमाथि आक्रमण गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । सोक्रममा दुई जना घाइते भएका छन् । उनीहरको अवस्था सामान्य रहेको बताइएको छ ।














