Logo
Logo

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित


0
Shares

काठमाडौं। साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य साविक विजेता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए। आसिफ ३२ रनमा आउट भए भने निरोशन डिक्वेला ७ रनमा बोल्ड भए। त्यसैगरी, शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो। सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका किशोर महतो र शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे। किशोरले ४ र शेरले ३ विकेट लिए भने कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एक-एक विकेट हात पारे।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। त्यस्तै, विनोद भण्डारी ९, सैफ जेब १३, ब्रान्डन म्याकमुलेन २, इशान पाण्डे ७, शेर्फन रदरफोर्ड १ रनमा आउट भए भने स्कट कुइगेलेइन र हेमन्त धामी खाता नखोजी आउट भए। अनिल खरेल १७ रनमा अविजित रहे।

यस खेलमा नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग लुम्बिनीले गर्यो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लुको अपिल गरेका थिए। तर, अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए, जसमा उनी सफल हुन सकेनन्।

मंगलबार एनपीएल अन्तर्गत दुईवटा खेल हुनेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्