Logo
Logo

गोरखा केन्द्रित चुनावी प्रचार अभियानमा बाबुराम भट्टराई


693
Shares

गोरखा । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा आफ्नो गृह जिल्ला केन्द्रित भएका छन् । उनी शनिबार बिहानैदेखि पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।

चुनावी प्रचार अभियानमा जुटेका भट्टराईले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको समेत बताएका छन् । पालुङटारबाट उनले सामाजिक सञ्जाल टिवटरमा लेखेका छन्, ‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो ।’

यसअघि उनी बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् । जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो । गठबन्धनमा रहेका अन्य दलहरू पनि अहिले चुनावी अभियानमा छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका संयुक्त चुनावी सभामा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्