
बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि बारम्बार प्रहार भएकाले त्यसको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका छन् ।
शनिबार पाँच दलीय गठबन्धनले रुपन्देहीको बुटवलमा आयोजना गरेको निर्वाचन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि बारम्बार प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक रहेको रहेको र जनताले मतदान गर्नुपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले संसदमा विपक्षी राजनीतिक दलहरुले सरकारका कामको विरोध जनाउँदाबित्तिकै संसद् भंग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाइएको प्रधानमन्त्री देउवाले स्पष्ट पारे ।
जनताले पाँच वर्षका लागि बनाएको संसद्लाई प्रधानमन्त्रीको विरोध गर्याे कि संसद् भङ्ग गरिदिने गरेको बताउँदै प्रधानमन्त्री देउवाले संविधानले जथाभावी संसद् भंग गर्ने व्यवस्था नगरे र भंग गरिएमा असंवैधानिक र प्रतिगमन हुने स्पष्ट पार्दै ओलीले असंवैधानिक कदम चाल्दा आज देश संकटमा रहेको बताए ।
पाँच दलीय गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धनको भविष्यबारे शंका नगर्न समेत आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई गठबन्धनलाई सफल बनाउन लागिपर्न निर्देशनसमेत दिए ।
प्रधानमन्त्री देउवाले एमसीसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हँुदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुनेसमेत बताएका छन् ।
निर्वाचन सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संविधानमाथि हमला गरेको बताउँदै संविधानमाथि हमला गर्नेहलाई मतदान गर्न नहुने बताए ।
ओलीका कारण प्राप्त उपलब्धि नै खतरामा पर्ने अवस्था आएका कारण पाँच दलीय गठबन्धन बनेको भन्दै नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई भोट दिएर देश र व्यवस्थाको रक्षा गर्नुपर्ने धारणा राखे ।
सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको आरोप लगाए ।
आकाश किन्ने, चन्द्रमामा भ¥याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर ओलीले जनता झुक्याएको झाँक्रीको आरोप थियो ।
एमालेलाई पटक–पटक भोट हालेर नेतृत्वमा पुर्याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या उस्तै रहेको भन्दै झाँक्रीले अब भने सोच्ने बेला भएको बताए ।
कार्यक्रममा सहभागी माओवादी नेता चक्रपाणी खनाल ‘बलदेव’ले ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । कतिपय ठाउँमा गठबन्धनका कारण चित्त नबुझेको भए पनि गठबन्धन अहिलेको आवश्यकता रहेको भन्दै बलदेवले माओवादी नेता कार्यकर्तालाई ढुक्क भएर रुख चिन्हमा मतदान गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बुटवलवासीलाई एमाले नेता विष्णु पौडेलेले विकासको कुरा सुनाएर पटक–पटक धोका दिएको आरोप लगाए ।
पौडेलले कहिले सुकुम्बासीलाई लालपुर्जा दिलाउँछु भनेर ढाटेको त कहिले बुटवललाई प्रदेशको राजधानी बनाउछुँ ढाटेको प्रवक्ता महतले आरोप लगाएका हुन् ।














