
काठमाडौं । सत्ता गठबन्धनले एकपछि अर्को गर्दै आक्रामक रुपमा निर्वाचन अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ ।
वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् ।
गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना गर्याे । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर रत्नपार्कमा संयुक्त रुपमा सभामार्फत मतदातासमक्ष मत माग्यो ।
गठबन्धनका तर्फबाट आज पनि देशका विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना गरिएको छ । बुटवल, तनहुँ, जनकपुरधाममा संयुक्त चुनावी सभा भएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट शीर्ष नेताहरूले एकाएक चुनावी माहोल तताउने गरी अभियान केन्द्रित गरेपछि मतदातामा पनि सकारात्मक प्रभाव परेको छ ।
जनकपुरमा आयोजित संयुक्त सभामा गठबन्धनमा आबद्ध पार्टीका शीर्ष नेताहरूले ‘रोड शो’ आयोजना गरी मतदातालाई सक्रिय रुपमा निर्वाचनमा सहभागी हुन आह्वान गरे । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सभालाई सम्बोधन गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता जितेन्द्र देव लगायतका नेताले जनकपुरमा रोड शो मात्रै गरेनन् गठबन्धन किन आवश्यक पर्यो ? भन्ने बारेमा आफ्नो धारणासमेत राखे ।
कार्यक्रममार्फत गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षमा मतसमेत मागे ।संविधान, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि आफूहरुले साझा मोर्चा बनाएको उल्लेख गर्दै उहाँहरूले सक्रियताका साथ निर्वाचनमा सहभागी हुन आग्रहसमेत गरे ।
गठबन्धनका तर्फबाट शीर्ष नेता नै देशव्यापी रुपमा चुनावी अभियानमा निस्केपछि एकाएक निर्वाचनको माहोल बढेको र मतदाता पनि योग्य उम्मेदवार छनोट गर्ने दिनको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक तयारी युद्धस्तरमा अगाडि बढाएको छ ।
गठबन्धनले ६ वटा महानगर, ११ उपमहानगरलगायत देशभर नै संयुक्त उम्मेदवार खडा गरेका छन् । चितवनको भरतपुरमा रेणु दाहाल प्रमुख र चित्रसेन अधिकारी उपप्रमुखको उम्मेदवार हुन् । काठमाडौँ महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।
तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बर्ता । उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उल्लेख गरे ।
सभापति देउवाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने दाबी गरे ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ’, देउवाले भने । प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।
त्यसअघि बुटवलमा आयोजित सभामा पनि प्रधानमनत्रीले गठबन्धनको आवश्यकता र अमेरिकी सहयोग परियोजनाका सन्दर्भमा आफ्नो मन्तव्यलाई केन्द्रित गरे । त्यति मात्रै नभई उनले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । हालै संसद्बाट अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट पार्न खोजे ।
स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा उम्मेदवारी परेको मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित संयुक्त चुनावी सभाको राजनीतिक महत्व रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने– ‘मधेस र मधेसी जनताको सुखदुःखको पार्टी नै माओवादी हो ।’
निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी परेको छ ।
मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् ।
गठन्धनले आइतबार मात्रै देशका तीन स्थानमा संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कास्कीको पोखरा महानगरपालिकामा आइतबार बिहान ११ बजे सभा आयोजना गरिएको छ । दिउँसो दाङको घोराही र तुल्सीपुरमा संयुक्त कार्यक्रम हुनेछन् । यस्तै, २६ गते धनगढी र २७ गते बाराबो जितपुर सिमरामा चुनावी अभियानअन्तर्गत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
चुनावी सभालाई जनकपुरमा सम्बोधन गर्नुहुँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताए । उनले शीर्ष नेताहरूको साझा प्रयासका कारण देशभर नै निर्वाचनको माहोल बढेर गएकामा प्रसन्नता व्यक्त गर्दै इमान्दार भएर अभियानमा लाग्नसमेत सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानमा सक्रिय रहनुभएको सो पार्टीले जनाएको छ । स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो एजेन्डा लिएर अभियानमा केन्द्रित भएका छन् । यसले अपेक्षित रुपमा नै चुनावी अभियान सक्रिय रुपमा अगाडि बढेको छ ।
नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ मात्रै गर्दैन जनताले घरआँगनमा नै आफ्नो सरकार पाउँछन् ।











