एजेन्सी । इन्धनको मूल्य आकासिएको भन्दै त्यसको विरोधमा नाइजेरियाका हवाई सेवा कम्पनीले भोलिदेखि उडान बन्द गर्ने भएका छन् ।
बीबीसीका अनुसार सरकारले हवाइ इन्धनको भाउ चार गुणाले वृद्धि गरेको विरोधमा त्यहाँका सबै हवाइ सेवा कम्पनीले भोलिदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेका हुन् । नाइजेरियन एअर अपरेटर एओनले विश्वका कुनै पनि देशमा यस्तो चर्को मूल्यवृद्धि नभएको दाबी गर्दै उडान बन्द गर्नुको विकल्प नरहेको जनाएको छ ।
नाइजेरियामा हवाई इन्धनको मूल्य ५० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मूल्यवृद्धिकै कारण गएको मार्च महिनादेखि नै कयौँ उडान रद्द र ढिलाइ हुँदै आएका छन् । हवाई यातायात सञ्चालन गर्ने हो भने इन्धनमा सहुलियत दिनुपर्ने कम्पनीहरुले माग गरेका छन् ।
अफ्रिकाको सबैभन्दा ठूलो इन्धन उत्पादक भए पनि नाइजेरियाले हवाइ इन्धन भने आयात गर्ने गर्दछ । नाइजेरियामा सडक यातायात असुरक्षित हुँदा हवाइ यात्रा बाध्यात्मक बनेको छ ।
सडकमा लुटपाट, चन्दा आतंक, अपहरणलगायत समस्या हुँदै आएका बताइएको छ ।











