काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय परामर्श बिना आचारसंहिता तयार गरेर निर्वाचन आयोग विवादमा मुछिएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतवार समसामयिक राजनीतिक तथा आसन्न स्थानीय तह निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो यस्तो बताएका हुन् ।
“पहिले आयोगले दलहरुको सहभागितामा निर्वाचन आचारसंहिता तयार गर्थ्यो र लागू गर्थ्यो, यसपटक एमालेसँग परामर्श नगरी आफैँ बनायो ।” पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, “लोकतन्त्रमा जनताले मान्नुपर्ने कानुन शासकले बनाउँदैनन्, जनप्रतिनिधिले बनाउँछन्, यसपटक आयोगले गठबन्धबाहेक अरु दलहरुसँग परामर्श नगरी आचारसंहिता बनायो ।”
आयोगले सत्ता गठबन्धन दलसँग मात्र परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहिता ल्याएको भन्दै उनले भने, “हामीले हस्ताक्षर गरेका छैनौँ भन्दा हस्ताक्षर गर्नुस् या नगर्नूस् तपाईंहरुले पालना गनुपर्छ भन्ने जवाफ निर्वाचन आयुक्तबाट आयो, कांग्रेसको चुनाव चिह्न रुख हरियो छ भन्दैमा सूर्यसहित सबै चुनाव चिह्न आयोगले हरियो बनायो ।”
यो विषय आयोगलाई मुद्दा हाल्नुपर्ने भए पनि एमालेले अहिले मुद्दा नहालेको भन्दै उनले उक्त विषय बदर गराउनुपर्ने भएको बताए ।
आयोगले पाँचदलीय गठबन्धनलाई पत्र लेखेर चेतावनी र कार्बाही गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भने, “एकले अर्को पार्टीको प्रचार गर्न पाइँदैन भन्ने आयोगले चितवनको आम सभा देखेन ? आयोगले गठबन्धन चिन्दैन भन्ने हो भने गठबन्धन गरेर उम्मेद्वार उठाउँदा एउटा महिला एउटा पुरुष उठाउनुपर्यो नि, स्वतन्त्रबाट त उठाएको होइन ।”














