चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले यसपटकको स्थानीय तह निर्वाचन देशभक्त र देशघातीबीचको संघर्ष भएको बताएका छन् । नेकपा एमाले चितवनको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा बादलले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनलाई सर्मपणवादी र देशघातीको संज्ञा दिए । उनले भने, ‘ठूला पुँजिपतिहरु अहिले गठबन्धनको रुपमा व्यक्त भएको छ र अर्कोतिर श्रमजीवीबीच संघर्ष चलिराखेको छ । यो स्थानीय तहको निर्वाचन पनि यहि संघर्ष हो। एकातिर विदेशी ईसारामा चल्ने, आत्मसमर्पणवादीहरु छन् भने अर्को देशभक्त ।’
उनले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी समेत गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताए ।
गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको आरोप छ ।











