काठमाडौं । अहिले देशमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मधेश प्रदेश, बागमती र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
त्यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने जनाइएको छ ।
यस्तै, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, प्रदेश नंं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।











