काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र जुकाजस्तै भएको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र कहिले एमालेसँग, कहिले कांग्रेससँग टासिँएर रगत पिउने गरेकाे बताए ।

उनले भने, ‘२०६३ सालमा खुल्ला भएपछि यसको जिउमा टासिँर रगत पिउन पाइन्छ कि त्यसको जिउमा । तर, रगत पिउन छाडेको छैन । जुका जस्तो । कहिले कांग्रेससँग टासिँन्छ । कहिले एमलेसँग । कहिले कांग्रेससँग मिल्छ, कहिले एमालेसँग ।’
माओवादीलाई घोषणापत्र नै आवश्यक नपर्ने ओलीको भनाइ थियो । ‘माओवादीले त घोषणापत्र नै निकालेन । माओवादीलाई घोषणापत्र निकाल्न जरुरी पनि छैन । उ कि कांग्रेससँग मिल्न जान्छ । कि एमालेसँग मिल्न आउँछ । कांग्रेससँग गए उसको घोषणपत्र छँदैछ । एमालेसँग आए एमालेको छँदैछ,’ उनले भने, ‘पाहुना लाग्ने मान्छेले किचन बनाइराख्नुपर्छ र ? माओवादी केन्द्र भनेको केही दिनका पाहुँना हो ।’
माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै छोरीलाई जिताउनको लागि पनि कांग्रेसको दौराको फेरो समाएको टिप्पणी गरे । ‘छोरीलाई भोट दिन नसक्ने भएकाले अहिले एमालेसँग आइहाल्न सकेको छैन । अस्ति देउवालाई धम्क्याए । तपाईँहरुले हेप्नु हुन्छ भने म बालकोट गएर ढोकामा बस्छु,’ उनले भने, ‘छोरीलाई जिताउन पनि कांग्रेसको दौराको फेरो समाउनु परेको छ ।’














