Logo
Logo

सुनसरी एमालेमा भाँडभैलो



धरान । आगामी स्थानीय तह निर्वाचनको मुखैमा एमाले सुनसरीमा भाडभैलो सुरु भएको छ । केपी ओली गुट १०बुँदेलाई पेलेर वडादेखि जिल्ला तहसम्मै कब्जा गर्न र उम्मेदवार छनोटमा समेत हाबी भएपछि ओलीइतर कार्यकर्ता निस्कृय बसेका छन् ।

अधिवेशनमा खेम पोख्रेल समूहका एक जना सदस्यसमेत नराखी कमिटी गठन गरेको रेवती भण्डारी समूहले टिकट वितरणमा पनि एकलौटी गरेको छ । पोख्रेल समूह भण्डारीले गरेका मनपर्दीको बदला लिने रणनीतिमा रहेको बुझिएको छ।

धरानमा पोख्रेल समूह भनेर चिनिने मोतीराज सुनुवार, विजय राई निस्कृय जस्तै देखिएका छन् । राईलाई कोण सभाको जिम्मेवारी दिइएको छ । उनी कोण सभा सकेर घरै बस्ने गरेका छन् । मेयर पदका हेबीवेट उम्मेदवार मनोज मेयाङवोलाई पनि ओली समूहले अन्ततः लोप्पा खुवाएर उनी भन्दा धेरै जुनियर मन्जु भण्डारीलाई दोहो¥याएर टिकट दिएपछि मेयाङवोलगायत कार्यकर्ता रुष्ट छन् ।

हाल मेयाङवोलाई एमालेले आर्थिक उप–समितिको जिम्मेवारी दिएको छ । उनी चुनावी अभियानमा सक्रिय नभएको कार्यकर्ताहरू बताउँछन । गत वैशाख २४ गते धरानको भानुचोकमा आयोजित चुनावी आमसभामा पनि मेयाङवो देखापरेनन् । जबकी, उनलाई स्वागत भाषण गर्ने जिम्मेवारी दिइएको थियो । सो सभामा १०बुँदे समूहका नेताहरूको उपस्थिति रहेको थिएन । ओली गुटको पेलाई सहन नसकेर धरानका सकृय नेता रेवतीरमण राई हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । राईले समाजवादीको धरान नगर अध्यक्षको कमाण्ड सम्हालेका छन् ।

यसैगरी, एमालेभित्र १०बुँदे भनेर चिनिने धरानका स्थानीय नेताहरू राजमणि निरौला, नारायण सुवेदी, जयकुमार राई, प्रकाश राई, प्रदिप काफ्लेहरू पनि मन्जु भण्डारी हराउ अभियानमा लागेको बताइन्छ ।

यता, ओली समूहकी मन्जु भण्डारी समूहले पनि खेम पोख्रेल समूहका उपमेयरका उम्मेदवार पदम लिम्बु, १३ नम्वरका वडाध्यक्षका उम्मेदवार नेत्र काफले, १५ नम्वरध्यक्षका उम्मेदवार नरेश ईवारागलगायतलाई छानिछानी हराउने षडयन्त्र रचिरहेको एक कार्यकर्ता बताउँछन् ।

आफनै श्रीमती मेयरको उम्मेदवार भएर पनि विश्वासिलो मान्छे नपाएपछि मुरारी सुवेदी नै निर्वाचन परिचालन कमिटीको संयोजक भएका छन् । भण्डारीको समूहले १०बँुदे र खेम पोख्रेल समूहका नेताहरूको निगरानी राख्न ५–५ जना युवा संघका कार्यकर्ता सुराकीको रुपमा खटाएको पनि स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्