Logo
Logo

सुपेरियर बन्ने सेनाको प्रयास



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको काँधमा छ । मतदानस्थलको सुरक्षा जिम्मेवारी पूर्णरुपमा नेपाल प्रहरीले गर्ने छ । चुनावमा नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिने भए पनि उनीहरु प्रहरीको सहयोगीका रुपमा बाहिरी क्षेत्रमा पट्रोलिङ र स्ट्राइकिङ गस्ती मात्र खटिनेछन् ।

निर्वाचनका लागि सबै सुरक्षा निकायमा केन्द्रीय निर्वाचन सेल स्थापना गरिएको छ । तत्काल समन्वय गरेर एक्सन लिनका लागि यसरी निर्वाचन सेल गठन गरिएको छ । नेपाली सेनाको मुख्यालयमा पनि यस्तो सेल गठन गरिएको छ ।

सेनाको निर्वाचन सेलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी अधिकारीलाई समेत राख्न खोजियो । जसले सुरक्षा निकायबीच विवाद बढायो । आफ्नै नेतृत्वमा निर्वाचन सुरक्षा भएको सन्देश दिन र अन्य सुरक्षा निकायमाथि डोमिनेसनका लागि पनि सेनाले यस्तो प्रयास गरेको थियो । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सेनाको निर्वाचन सेलमा प्रतिनिधि पठाएनन् । किनकि सेनाले औपचारिक माध्यमबाट त्यस्तो प्रयास गरेको थिएन । मौखिकरूपमा त्यसरी प्रतिनिधि मागेपछि दुवै प्रहरीले नपठाएका हुन् ।

यद्यपि सुरक्षा निकायबीच सम्बन्ध भने सौहाद्रपूर्ण नै छ । जसको प्रमाण सेनासँग पेस्तोल सापट लिएर प्रहरीले चुनावमा कर्मचारी खटाउनुबाट पनि प्रष्ट हुन्छ ।

द्वन्द्वको समयमा सेनाले अन्य सुरक्षा निकायलाई आफ्नो कमाण्डमा खटाउने गर्दथ्यो । तर, अहिले सामान्य अवस्थामा पनि बेला–बेलामा सेनाले अन्य सुरक्षा निकायलाई जुनियर भाइको जस्तो व्यवहार देखाउन खोज्दा बेला–बेलामा असमझदारी देखिने गरेको छ । यो निर्वाचनमा पनि त्यस्तै अवस्था आयो ।

प्रतिक्रिया दिनुहोस्