काठमाडौं । डिआरएस गेमिङ– नेपाली ई–स्पोट्र्समा छुटाउनै नसकिने नाम हो । तर अहिले यही डिआरएसले आफ्नो पूरै पब्जी मोबाइल रोस्टरलाई बिदाइ गरेको छ । पाँचै जना खेलाडी फ्राग, ग्यान्टे, किलरवाईटी, सेक्क्सु र जियो सबैलाई एकैचोटि फेयरवेल गरिएको छ। डिआरएसले सामाजिक सञ्जालमा लेखेको छ– “हाम्रो यो यात्रा यहीँ समाप्त भएको छ । भारी मनका साथ हामी आफ्नो पब्जी मोबाइल टोलीलाई बिदाइ गर्दैछौँ । डीआरएस गेमिङको प्रतिनिधित्व गर्दै खेलाडीले देखाएको समर्पण, प्रतिबद्धता र योगदानका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । उनीहरूको आगामी भविष्यको सफलताको कामना गर्दछौँ ।”
आखिर डिआरएसले आफ्ना सबै पब्जी मोबाइल खेलाडीलाई एकैपटक किन बिदाइ ग¥यो ? कतै डिआरएसको पब्जी मोबाइल टोली नै ‘डिसब्यान्ड’ भएको त होइन ? यो प्रश्न अहिले नेपाली ई–स्पोट्र्स वृत्तको सबैभन्दा ठूलो चासोको विषय बनेको छ । किनकि एउटा–दुई जना खेलाडी परिवर्तन हुनु सामान्य हो । प्रदर्शन कमजोर भयो, नयाँ खेलाडी ल्याइन्छ, रोस्टर फेरिन्छ। ई–स्पोट्र्समा यस्तो भइरहन्छ । तर पूरै रोस्टरलाई नै बिदाइ गर्नु भनेको चानुने कुरा होइन ।
किलरवाईटी अर्थात् साहस भण्डारी डिआरएसका लागि पिलर हुन् । अरू खेलाडी बारम्बार परिवर्तन हुँदा पनि उनी डिआरएसमै रहिरहेका थिए । उनले डिआरएस छाड्नु भनेको डिआरएसको सकिनु जस्तै हो भनी ई–स्पोट्र्स वृत्तमा चर्चा हुने गरेको छ । उनी २०२२ देखि डिआरएससँग जोडिएका थिए । अर्थात् चार वर्षभन्दा बढी समय डिआरएसको यात्राको हिस्सा बनेका खेलाडीलाई अहिले बिदाइ गरिएको छ । त्यसैले पनि डिआरएस नै डिस्ब्यान्ड हुन लागेको हो कि भन्ने आशङ्का गरिएको छ ।
डिआरएस नेपाली पब्जी मोबाइलको एउटा सामान्य टोली होइन । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम स्थापित गराउने टोलीमध्ये डिआरएस सबैभन्दा अगाडि छ । सन् २०२३ मा इन्डोनेसियाको जकार्तामा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा डिआरएस दोस्रो बनेको थियो । नेपाली टिमले अहिलेसम्म पब्जीमा प्राप्त गरेको सबैभन्दा ठूलो उपाधि यही नै हो । जसले गर्दा डिआरएसले नेपाली ई–स्पोट्र्समा अलग्गै पहिचान र उचाइ बनाएको छ ।
तर पछिल्ला वर्षहरूमा नेपाली ई–स्पोट्र्सको प्रतिस्पर्धा निकै बढेको छ । नयाँ टोलीहरू आएका छन्, खेलाडीहरूको स्तर बढेको छ र प्रतियोगिताको प्रतिस्पर्धा पनि पहिलेभन्दा कडा बनेको छ । यस्तो अवस्थामा पुरानो नाम र पुरानो सफलता मात्रै पर्याप्त हुँदैन । टोलीलाई निरन्तर नतिजा चाहिन्छ, स्थिर रोस्टर चाहिन्छ, खेलाडीबीचको तालमेल चाहिन्छ । अनि सबैभन्दा महत्त्वपूर्ण कुरा– ठूला प्रतियोगितामा दबाब सम्हालेर परिणाम निकाल्ने क्षमता चाहिन्छ ।
डिआरएसको पछिल्लो रोस्टर पनि स्थिर रहन सकेन। खेलाडी आउने–जाने क्रम चलिरह्यो र रोस्टर निरन्तर परिवर्तन भइरह्यो, जसका कारण टोलीले अपेक्षित नतिजा निकाल्न सकेन । पब्जी मोबाइल नेसनल च्याम्पियनसिपमा पनि डिआरएस छैटौँ स्थानमा सीमित भयो । शीर्ष तीनभित्र पर्न नसकेसँगै डिआरएसको यो वर्षको ग्लोबल च्याम्पियनसिप पुग्ने यात्रा पनि यहीँ रोकियो । त्यसैले आगामी झन्डै आठ महिनासम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुने र आर्थिक संकटसमेत बढ्दै गएपछि टोलीले आफ्ना खेलाडीहरूसँगको सम्झौता समाप्त गर्दै बिदाइ गरेको बताइएको छ।
पूरै रोस्टरलाई बिदाइ गर्नु भनेको तत्कालका लागि टोलीले आफ्नो पब्जी मोबाइल यात्राको एउटा अध्याय बन्द गर्नु हो । अब प्रश्न नयाँ अध्याय कस्तो हुन्छ भन्ने हो । के डिआरएसले नयाँ खेलाडीहरू ल्याएर नयाँ पुस्ताको टोली बनाउँछ ? के पुराना चर्चित खेलाडीमध्ये कसैलाई फेरि जोड्छ ? फ्यानहरूका लागि अहिले सबैभन्दा ठूलो चासो यही हो ।
किनकि डिआरएससँग केवल एउटा टोलीको नाम मात्र जोडिएको छैन, यससँग नेपाली पब्जी मोबाइलको एउटा इतिहास जोडिएको छ । धेरै खेलाडी र प्रशंसकका लागि डिआरएस एउटा टिम मात्रै होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने परिचित नाम पनि हो ।
तर ई–स्पोट्र्समा एउटा टोलीको यात्रा खेलाडीको बिदाइसँगै सकिँदैन । कहिलेकाहीँ यही बिदाइ नयाँ सुरुवातको सङ्केत पनि हुन्छ । अब हेर्न बाँकी छ– डिआरएसले अर्को यात्राका लागि कस्ता खेलाडी रोज्छ, कस्तो टोली बनाउँछ र नेपाली पब्जी मोबाइलको प्रतिस्पर्धामा फेरि कस्तो उपस्थितिका साथ फर्किन्छ। किनकि उसले सशक्त पुनरागमन गर्ने अपेक्षा धेरैले गरेका छन्। यो भने आउँदो समयले नै देखाउने छ।













