
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ ।
आज दिउँसो साढे १२ बजेतिर राहदानी विभागअगाडी बस स्टेशनमा चालक भित्रै रहेका बेला रिद्धिसिद्धिको यात्रुवाहक बसमा एक्कासी आजनजी भएको थियो । त्यसअघि चालक र ट्राफिक प्रहरीहरुबीच चर्काचर्की भएको खुलेको हो ।
सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ ।
लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
वादविवादको भिडियो हेर्दा चालकलाई ट्राफिक नियम उल्लंघनको आरोपमा ट्राफिक प्रहरीले जरिबानास्वरुप चिट काट्न खोजेको जस्तो देखिन्छ । तर चालकले भने आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान लिएको सुनिन्छ । ‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरुले..,’ उनले भनेका छन् ।
ड्राइभिङ सिटमै रहेका चालक र सडकमा रहेका ट्राफिक प्रहरीहरुबीच विवाद भइरहेको भिडियोमा सशस्त्र प्रहरीको पोशाक लगाएका र सादा पोशाकका व्यक्तिहरु पनि देखिन्छन् । उनीहरुले बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै साइड लगाउन भनिरहेको पनि सुनिन्छ ।
त्यही क्रममा चालकले आफूले ट्राफिक प्रहरीतर्फ देखाउँदै आफूले ‘रेस्पेक्ट’ गरेको, माफी मागेको तर जरिबाना तिराउन खोजिएको गुनासो गर्छन् ।
जरिवाना तिर्नैपर्ने ट्राफिक प्रहरीहरुको भनाइ र तिर्दिनँ भन्ने बस चालकको अडानका बीच विवाद थप चर्किंदै जान्छ । त्यसपछि चालक थप आक्रोशित हुन्छन् र भन्छन्– ‘हामी काम गर्ने मान्छे हो । म मर्न तयार छु ।’
आफ्नो गल्ती नभएको तर पनि माफी मागेको दोहो¥याउँदै उनले थप भनेका छन्, ‘मैले यति धेरै रेस्पेक्ट गर्दागर्दै यिनीहरुले लापरवाही गर्ने ! जे गर्न सक्छ गर…।’
एकछिनपछि बसको पछिल्लो भागबाट आगो दन्किएको देखिन्छ । अहिले यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।













