भोजपुर । मौन अवधिमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका प्रत्यासीले मतदाता प्रभावित गर्न खाजेको भन्दै स्थानीयले उम्मेदवारलाई घेराबन्दी गरेका छन् ।
अरुण गाउँपालिकाको वडा नं. ७ स्थित सिक्रेटारमा लिलाबहादुर खड्काको घरमा बुधबार राती ९ बजे नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नारायणप्रसाद घिमिरेसहितका समुहलाई स्थानीयले मौन अवधिमा गाउँमा भेटेपछि नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीयस्तरका माओवादीका कार्यकर्ताले एमालेकी गाउँपालिका उपाध्यक्षका उम्मेदवार कविता राईसमेतलाई मत मागिरहेको अवस्थामा भेटेपछि झडपको स्थित बनेको थियो ।
निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव लक्षित प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेको छ । तर, त्यसविपरित मौन अवधिमा अध्यक्ष र उपाध्यक्षका प्रत्यासीले राती गाउँमा गएर वृद्धभत्ता बढाइदिने, पैसा चामल दिने लगायतका लोभ देखाएर भोट मागेको भेटिएपछि माओवादी कार्यकर्ताले उनीहरुलाई गाउँबाट तत्काल निस्किन आग्रह गरेका थिए ।
वास्तविकता बुझ्न गएका स्थानीयसहितका माओवादी कार्यकर्तालाई उनीहरुले धम्क्याएको आरोप लगाएका छन् ।
आफूहरुले मौन अवधिमा यस्तो कार्य गर्न नपाइने र यो निर्वाचन आचारसंहिताविपरित हुने भनी सम्झाउँदा ‘सक्छौँ भने तिमीहरु पनि गाउँगाउँ जाऊ तर हामीलाई बाधा पुर्याए अवस्था राम्रो नहुने भन्दै धम्की दिएको स्थानीयले बताएका छन् । संहिताविपरित काम नगरौं भन्दा उल्टै धम्क्याउनु गलत भएको उनीहरुको भनाइ छ ।
माओवादी केन्द्रको पकड क्षेत्र सिक्रेटारमा स्थानीयलाई नगदसमेत वितरण भइरहेको भन्ने सूचनाका आधारमा आफुहरु त्यहाँ पुगेको माओवादीका स्थानीय नेताले बताए ।
उनीहरुको साथमा रहेको झोला नियन्त्रणमा लिएर जाँचबुझ गर्दा सामान्य खर्च रकम मात्र भेटिएपछि तत्काल फर्किने सहमतिमा उनीहरुलाई छाडिएको स्थानीयले बताएका छन् ।














