
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । धेरै स्थानमा रुख र बिजुलीका पोल ढलेका छन् । सावधानीका लागि विद्युत् आपूर्ति बन्द गरिएको छ । चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने अधिकारीहरूले बताएका छन् ।
बीबीसीका अनुसार चक्रवात तटमा ठोक्किनुअघि भारी वर्षा भएको थियो । मौसम विभागका अनुसार यो यानमको दक्षिणमा बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा पुगेको थियो । त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म रहेको जनाइएको छ ।
कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार बिजुलीका पोल ढलेको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।
आन्ध्र प्रदेशका ऊर्जा मन्त्री गोट्टिपति रवि कुमारले चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको बताएका छन् ।
चक्रवातका कारण आन्ध्र प्रदेशभर उडान सेवा पनि प्रभावित भएको छ । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसद्वारा सञ्चालित कम्तीमा १९ वटा उडानहरू रद्द गरिएको छ ।
इन्डिगो एयरलाइन्सले पनि प्रभावित विमानस्थलहरूमा आफ्ना उडान सेवाहरू स्थगित गरेको छ भने रेल सेवा पनि प्रभावित भएको छ ।















