दाङ । दाङमा नुहाउँदै गरेका दुई जनाको डुबेर मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवाका १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
बिहीवार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका– १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउँदै गर्दा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीवार बिहान जलाशयमा नुहाउन गएका बेला उनी चिप्लिएर डुबेकी थिइन् ।
दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालका अनुसार उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । त्यस्तै बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् ।
बिहीवार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएका बेला घोराही उपमहानगरपालिका–१० नारायणपुरका १६ वर्षीय प्रशान्त वली बेपत्ता भएका हुन् । उनी तुलसीपुर उपमहानगरपालिका– ११ मा मामा घर गएका बेला पौडी खेल्न गएका थिए ।
उनको खोजी कार्य भइरहेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।











