Logo
Logo

म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारले उठाए प्रश्न


0
Shares

काठमाडौं । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन् । 

The current image has no alternative text. The file name is: khagendra-sunar.jpg

 शुक्रवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले उक्त प्रकरणसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत समितिका सदस्यहरूलाई नदिइएको भन्दै प्रश्न गरेका हुन् ।

सुनारले आफूले व्यक्तिगत रूपमा चासो दिएर विषयको खोजी तथा छानबिन गर्दा गम्भीर त्रुटिहरू फेला पारेको दाबी गर्दै सम्बन्धित प्रमाण बुझाउने निकाय र प्रक्रियाबारे समितिका सभापतिले स्पष्ट पार्नुपर्ने बताए । उनले प्रहरी महानिरीक्षक तथा सम्बन्धित टोलीको भूमिकामाथि प्रश्न उठाउँदै प्राप्त प्रमाणहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै समितिमा विधिवत् रूपमा उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण फेला परेको अवस्थामा आवश्यक सिफारिससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने बताए । 

उनकाअनुसार सार्वजनिक लेख समितिले कुनै पनि बहानामा आलटाल गर्न पाउँदैन, खुट्टा कमाउन मिल्दैन । प्रहरी महानिरीक्षकले ‘तिमीहरूको पनि हेरौँला’ भनेकै कारण समिति डराएको हो कि भन्दै प्रश्नसमेत गरे । कुनै दबाब वा प्रभावमा नपरी समितिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ रहेको छ  । सुनारले विगतको सुडान काण्डको प्रसङ्ग उल्लेख गर्दै त्यसबेला छानबिन समिति गठन गरी प्रतिवेदन तयार पारिएको र भ्रष्टाचार मुद्दा अघि बढाइएको स्मरण गराए । उनले अहिले पनि गम्भीर रूपमा उठेको विषयमा समितिले सक्रियतापूर्वक छानबिन गर्नुपर्ने बताए ।  म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा छानबिन गर्न समितिको पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन सभापतिसँग माग सुनारले गरेका हुन् । 

सार्वजनिक लेखा समितिको गरिमा र प्रभावकारिता कायम राख्नुपर्नेमा जोड दिँदै सुनारले समितिले जनताप्रति जबाफदेही भएर काम गर्नुपर्नेमा उनको जोड दिए ।  समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसके आफूहरू त्यसको जिम्मेवारी लिनसमेत तयार रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्