
काठमाडौं । आज २०७९ वैशाख ३० गते शुक्रबार । अर्थात, आम नेपाली जनताले आफ्नो नजिकको सरकारको नेतृत्व चुन्ने दिन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आज दोस्रोपटक देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ । यसअघि, पाँच वर्ष अगाडि नेपालमा पहिलोपटक स्थानीय सरकारको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
यसपटक १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जना प्रतिनिधि चयन गर्नेछन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
यसमध्ये मनोनयनकै क्रममा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध भइसकेका छन् । ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यसपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न १० हजार ७५६ मतदानस्थल अन्र्तगत २१ हजार ९५५ मतदान केन्द्र बनाइएको छ ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।
निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।











