ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभञ्ज्याङ मतदानस्थलमा मतदानको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ ।
विवाद भएपछि उत्पन्न स्थिति तनावग्रस्त हुँदा प्रहरीले ९ राउन्ड हवाई फायरसमेत गरेको छ । हाल मतदान स्थगित भई पुनः मतदान गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
मत हाल्नका लागि अशक्त मतदाता नरबहादुर श्रेष्ठको नातिलाई लगेपछि विवाद सुरु भएको थियो । सोही विवाद चर्किँदा मतदानस्थलभित्रै कांग्रेस र एमालेका कार्यकर्ता प्रवेश गरेका थिए ।
मतदान सामग्री र मतदान अधिकृत नै असुरक्षित हुने अवस्था भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरीका डीएसपी सुकदेव खनालले बताए ।
अहिले स्थिति नियन्त्रणमा आई पुनः मतदानका लागि सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।














