Logo
Logo

दोहोरो राहदानी प्रकरणमा छानबिन नगरेको भन्दै कार्यवाहक राजदूतविरुद्ध अख्तियारमा उजुरी


0
Shares

काठमाडौं । जर्मनीस्थित नेपाली राजदूतावासमा नेपाली नागरिकता कायम रहेकै अवस्थामा पोल्यान्डको राहदानी लिएको आरोपबारे उजुरी परेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि छानबिन नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

‘हामी सचेत नेपाली नागरिक, पोल्यान्ड’ का तर्फबाट आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरी हालै दर्ता गरिएको उजुरीमा जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ।

निवेदनअनुसार, गत सेप्टेम्बर २२ मा कार्यवाहक राजदूत वाग्लेलाई इमेलमार्फत उजुरी पठाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डकी अध्यक्ष रीता न्यौपानेका श्रीमान् रामचन्द्र न्यौपाने र सहोदर दाजु प्रकाश तिवारीले नेपाली नागरिकता कायम रहेकै अवस्थामा पोल्यान्डको राहदानी लिएको विषयमा छानबिन गर्न माग गरिएको थियो। तर, उजुरीकर्ताहरूका अनुसार एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त विषयमा कुनै छानबिन भएको जानकारी प्राप्त भएको छैन।

उजुरीमा कार्यवाहक राजदूत वाग्लेले छानबिन अघि बढाउनुको सट्टा आरोप लागेका व्यक्तिहरूबाट राजदूतावासमा स्वागत तथा सम्मान ग्रहण गरेको तस्बिर सार्वजनिक भएको दाबी गरिएको छ। उक्त तस्बिरलाई आधार बनाउँदै उजुरीकर्ताहरूले राजदूतावासको भूमिकामाथि प्रश्न उठाएका हुन्।

त्यसैगरी, राहदानी नवीकरणका क्रममा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको विषयमा यसअघि राजदूतावासले नै छानबिन गरी कारबाही सिफारिस गरेको भनिएकी एनआरएनए पोल्यान्डकी अध्यक्ष रीता न्यौपानेकै नेतृत्वमा पुनः राहदानी नवीकरण शिविर सञ्चालन गर्न अनुमति दिइएको विषयसमेत निवेदनमा उल्लेख छ।

उजुरीकर्ताहरूले दोहोरो राहदानीसम्बन्धी आरोपको छानबिनका लागि सम्बन्धित व्यक्तिहरूको पोल्यान्डको आवासीय कार्ड मगाएर वा झिकाएर प्रक्रिया अघि बढाउन सकिने जिकिर गरेका छन्। तर, यस्तो सामान्य प्रक्रियाबाटै छानबिन हुनसक्ने विषयमा समेत कार्यवाहक राजदूतले चासो नदेखाएको उनीहरूको आरोप छ।

निवेदनमा कार्यवाहक राजदूतले आफ्नो पदको दुरुपयोग गरी उजुरीको विषय ढाकछोप गर्न खोजेको आशंका व्यक्त गर्दै यसबारे आयोगले छानबिन गर्न माग गरिएको छ। साथै, राहदानी नवीकरण शिविर सञ्चालनको जिम्मेवारी विवादित व्यक्तिकै नेतृत्वमा सुम्पिएको विषयको समेत अनुसन्धान गर्न माग गरिएको छ।

पोल्यान्ड भौगोलिक रूपमा ठूलो रहेको र धेरै नेपाली कामदारहरू राजधानीबाहिर बस्ने भएकाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै तत्कालीन राजदूत डा. शैल रूपाखेतीले अन्य सहरहरूमा पनि घुम्ती शिविर सञ्चालन गर्न सुरुवात गरेका थिए। जसअनुसार गत जनवरी २ देखि ५ सम्म पोल्यान्डको भ्रोस्वाभ (Wrocław) सहरमा घुम्ती शिविर सञ्चालन भएको थियो। तर, कार्यवाहक राजदूतका रूपमा वाग्ले जर्मनी आएसँगै पुनः राजधानी वारसामै मात्र राहदानी घुम्ती शिविर केन्द्रित गरिएको भन्दै असन्तुष्टि बढेको बताइएको छ।

“राजधानी वारसा तथा राहदानी नवीकरणमा अतिरिक्त शुल्क लिएर आर्थिक अनियमितताको अनुसन्धानमा रहेका विवादित व्यक्तिहरूसँग कार्यवाहक राजदूतज्यूको अस्वाभाविक प्रभाव र मोह बुझिनसक्नुको देखियो,” उजुरीकर्ता ‘हामी सचेत नेपाली नागरिक, पोल्यान्ड’ का एक प्रतिनिधिले भने।

त्यस्तै, एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र हाल उक्त विषय छानबिनको क्रममा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्