
काठमाडौं । जर्मनीस्थित नेपाली राजदूतावासमा नेपाली नागरिकता कायम रहेकै अवस्थामा पोल्याण्डको राहदानी लिएको आरोपबारे उजुरी परेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि छानबिन नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
हामी सचेत नेपाली नागरिक, पोल्याण्डले आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरीएको उजुरीमा जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत नारायण प्रसाद वाग्लेको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ ।
निवेदनअनुसार गत सेप्टेम्बर २२ मा कार्यवाहक राजदूत वाग्लेलाई इमेलमार्फत उजुरी पठाउँदै एनआरएनए पोल्याण्डकी अध्यक्ष रीता न्यौपानेका श्रीमान् रामचन्द्र न्यौपाने र सहोदर दाजु प्रकाश तिवारीले नेपाली नागरिकता कायम रहेकै अवस्थामा पोल्याण्डको राहदानी लिएको भनिएको विषयमा छानबिन गर्न माग गरिएको थियो । तर, उजुरीकर्ताका अनुसार एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त विषयमा छानबिन भएको जानकारी प्राप्त भएको छैन ।
उजुरीमा कार्यवाहक राजदूत वाग्लेले छानबिन अघि बढाउनुको सट्टा आरोप लागेका व्यक्तिहरूबाट राजदूतावासमा स्वागत तथा सम्मान ग्रहण गरेको तस्बिर सार्वजनिक भएको दाबी गरिएको छ । उक्त तस्बिरलाई आधार बनाउँदै उजुरीकर्ताले राजदूतावासको भूमिकामाथि प्रश्न उठाएका छन्।
त्यसैगरी, राहदानी नवीकरणका क्रममा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको विषयमा यसअघि राजदूतावासले छानबिन गरी कारबाही सिफारिस गरेको भनिएको एनआरएनए पोल्याण्डकी अध्यक्ष रीता न्यौपानेकै नेतृत्वमा पुनः राहदानी नवीकरण शिविर सञ्चालन गर्न अनुमति दिइएको विषयसमेत निवेदनमा उल्लेख छ ।
उजुरीकर्ताले दोहोरो राहदानीसम्बन्धी आरोपको छानबिनका लागि सम्बन्धित व्यक्तिहरूको पोल्याण्डको आवासीय कार्ड मगाएर वा झिकाएर प्रक्रिया अघि बढाउन सकिने जिकिर गरेका छन् । तर, सामान्य प्रक्रियाबाटै छानबिन गर्न सकिने विषयमा समेत कार्यवाहक राजदूतले चासो नदेखाएको उनीहरूको आरोप छ ।
निवेदनमा कार्यवाहक राजदूतले आफ्नो पदको दुरुपयोग गरी उजुरीको विषय ढाकछोप गर्न खोजेको आशंका व्यक्त गर्दै यसबारे आयोगले छानबिन गर्न माग गरिएको छ । साथै, राहदानी नवीकरण शिविर सञ्चालनको जिम्मेवारी विवादमा परेका व्यक्तिको नेतृत्वमा दिइएको भनिएको विषयको समेत अनुसन्धान गर्न माग गरिएको छ ।
पोल्याण्ड भौगोलिक रुपमा ठूलो भएको र धेरै नेपाली कामदारहरू राजधानी बाहिर बस्ने भएकोले सेवाग्राहीको सुविधा मध्यनजर गर्दे तत्कालीन राजदूत डा शैल रुपाखेतीले अन्य सहरमा पनि घुम्ती शिविर सञ्चालन गर्न सुरुवात गरेका थिए । जसअनुसार गत जनवरी २ देखि ५ सम्म पोल्याण्डको भ्रोस्वाभ सहरमा घुम्ती शिविर भएको थियो । तर कार्यवाहक राजदूतको रुपमा वाग्ले जर्मनी आएसँगै फेरि राजधानी वारसामै राहदानी घुम्ती शिविर केन्द्रित गरेको भन्दै असन्तुष्टि बढेको बताइएको छ ।
‘राजधानी वारसा तथा राहदानी नवीकरणमा अतिरिक्त शुल्क लिएर आर्थिक अनियमितताको अनुसन्धानमा रहेका विवादित व्यक्तिहरुसँगको प्रभाव र अतिरिक्त मोह कार्यवाहक राजदूतज्यूको बुझि नसक्नुको देखियो’, उजुरीकर्ता हामी सचेत नेपाली नागरिक पोल्याण्ड स्रोतले भन्यो ।
त्यस्तै, एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर छानबिनको अबस्थामा छ ।















