
गोरखा । आज भइरहेको स्थानीय तहको निर्वाचनमा दुई बजेसम्म गोरखामा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालका अनुसार उत्तरी गोरखा अन्तर्गत धार्चे र चुमनुव्री गाउँपालिकामा ६० प्रतिशत मतदान भएको हो । उनले भने, ‘जिल्लाभर समग्रमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।’
११ स्थानीय तह रहेको गोरखामा ३ सय ११ वटा मतदान केन्द्र छन् । उत्तरी गोरखाअन्तर्गत कम मतदाता रहेको केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको छ । ८२ मतदाता रहेको नामरुङ गुम्बा मतदान केन्द्रमा ७२ खसेको छ ।
‘केही मतदाता अझै आउँदै हुनुहुन्छ,’ मतदान अधिकृत डिलप्रसाद गुरुङले भने, ‘अधिकांशले बिहानै हालेर गइसक्नुभयो, अब १० जनाको बाँकी छ, कुरेर बसेका छौँ ।’ त्यस्तै चुमनुव्री गाउँपालिका–४ को हिमचुली आधारभूत विद्यालय छाकमा ५८ मत खसेको छ ।
उक्त केन्द्रमा १०५ मतदाता रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी केशवराज गुरुङले बताए । ‘५० प्रतिशत मत खसिसक्यो, अहिले भीडभाड घटेको छ,’ उनले भने, ‘हामी बेलुकी पाँच बजेसम्म बस्छौँ ।’
चुमनुव्री गाउँपालिका क्राकको क्राक गुम्बा मतदान केन्द्रमा पनि ६८ मत खसेको छ । उक्त केन्द्रमा ९९ मतदाता छन् । कम मतदाता रहेको मतदान केन्द्रको मतदान अन्तिम चरणमा पुगे पनि कर्मचारीले भने साँझ पाँच बजेसम्म बस्ने गुरुङले बताए ।











