Logo
Logo

रास्वपा नेताहरूको दिल्ली दौड किन ? (भिडियोसहित)


0
Shares

काठमाडौं । अहिले सत्तारुढ दल रास्वपाका नेताहरूको दिल्ली दौड चलिरहेको छ । तर, भारत जाने सबैको बहाना भने एउटै छैन । कोही धार्मिक यात्रामा छन् । कोही आर्थिक सहकार्यको कुरा गरिरहेका छन् । कोही अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन दिल्ली पुगिरहेका छन् । अनि कोहीको भ्रमण त यति गोप्य बन्यो कि भारत गएको हो कि होइन भन्नेमै विवाद भयो ।

रोचक कुरा के छ भने, भारत पुग्ने यी नेताहरूको राजनीतिक सम्बन्ध पनि फरक–फरक छ । रवि लामिछाने पार्टी सभापति हुन् । बालेन शाह प्रधानमन्त्री हुन् । स्वर्णिम वाग्ले अर्थमन्त्री हुन् । सुधन गुरुङ गृहमन्त्री हुन् भने कुमार बेन प्रधानमन्त्रीका सल्लाहकार । अनि मनीष झा रास्वपाका सांसद हुन् । अर्थात्, पार्टी र सरकारका महत्त्वपूर्ण पात्रहरू एकपछि अर्को गर्दै भारतसँग सम्पर्क बढाइरहेका छन् । रास्वपा नेताहरु एकपछि अर्को गर्दै दिल्ली धाउन थालेपछि प्रधानमन्त्री बालेनको एउटा पुरानै ¥यापले भने सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

एकपछि अर्का गर्दै रास्वपा नेताहरु दिल्ली धाउन थालेपछि प्रश्न उठ्नु अस्वाभाविक होइन, प्रश्न उठ्छ– के यी सबै केवल सामान्य कूटनीतिक गतिविधि मात्र हुन् ? या भारतसँग सम्बन्ध सुधारको बहानामा रास्वपाभित्रै दिल्लीको नजिक को बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ ? अझ, रवि र बालेन पक्षबीच भारतसँगको सम्बन्धलाई नै लिएर शक्ति प्रदर्शन भइरहेको त छैन ? प्रश्नहरू अनेक छन् । तर, प्रश्न उठ्दैमा त्यो नै पूर्ण सत्य हुन्छ भन्ने पनि होइन । त्यसैले, रास्वपा नेताहरू आखिर किन यो दौडधुपमा छन् ? एक–एक गरी घटनाक्रम बुझौँ ।

प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेन गत साउनमै सुटुक्क दिल्ली पुगेका थिए । उनले भारतीय विदेश मन्त्रालयका अधिकारी र सुरक्षासम्बद्ध व्यक्तित्वहरूसँग भेटघाट गरेका थिए । त्यसक्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि उनको भेट भएको चर्चा चलेको थियो । बेनको यो भ्रमणबारे संसदमै प्रश्न उठेको थियो । यो विषयमा प्रतिपक्षी दलका सांसदहरूले मात्र होइन, सत्तापक्षकै सांसदहरूले समेत प्रश्न उठाएका थिए ।

यता, कुमार बेनले भने भारत गएको कुरा अस्वीकार गरेका थिए । परराष्ट्र मन्त्रालयले पनि उनको भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको थियो । त्यसैले, बेनको भ्रमणबारे प्रश्न उठ्नु स्वाभाविकै थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार किन सुटुक्क दिल्ली पुगे ? परराष्ट्र मन्त्रालयलाई किन जानकारी दिइएन ? यदि बेनले भनेजस्तै भारत गएको होइनन् भने, सर्वत्र प्रश्न उठ्दा किन स्पष्ट पारिएन ?

रास्वपाका सांसद मनीष झा पनि भारत पुगेका थिए । उनको भ्रमणको उद्देश्य भारतमा रहेका नेपाली समुदाय र पार्टीको प्रवासी संगठनसँग सम्बन्ध विस्तार गर्नु थियो । उनले भारतस्थित नेपाली दूतावासमा पुगेर नेपाली डायस्पोरासँग सहकार्य बढाउने विषयमा पनि कुराकानी गरेका थिए । विदेशमा रहेका नेपालीसँग राजनीतिक र सामाजिक सम्बन्ध विस्तार गर्नु आफैँमा अस्वाभाविक होइन ।

तर, केही सञ्चारमाध्यममा स्रोतलाई उद्धृत गर्दै झाको भ्रमणका क्रममा प्रवासी नेपालीसँगको छलफलभन्दा बाहिरका उच्चस्तरीय भेटघाट बढी भएको दाबी गरियो । यद्यपी, ती भेटमा को–को सहभागी थिए ? के विषयमा छलफल भयो ? भन्ने अहिलेसम्म खुलेको छैन ।

अब गृहमन्त्री सुधन गुरुङको भारत भ्रमणको कुरा गरौँ । उनको भ्रमण भने औपचारिक सरकारी कामसँग सम्बन्धित थियो । अक्टोबर १२ मा नयाँदिल्ली पुगेका गुरुङ अक्टोबर १३ मा आयोजित बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए । यो बैठकको विषय सामान्य थिएन । सीमा पार अपराध, मानव बेचबिखन, लागुऔषध तस्करी, आतंकवाद, साइबर अपराध र क्षेत्रीय सुरक्षा सहकार्यजस्ता विषय बैठकका मुख्य एजेन्डा थिए ।

तर, गुरुङको दिल्ली भ्रमण बहुपक्षीय बैठकमा सहभागी भएर फर्किने काममा मात्रै सीमित रहेन । उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । दुई देशबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन र आपसी सम्बन्धबारे छलफल भयो । यही भेटवार्तामा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको विषयले पनि प्रवेश पाएको चर्चा छ । प्रधानमन्त्री बालेनको भारत भ्रमण डिसेम्बर ७ देखि ९ सम्म हुन सक्ने जनाइएको छ । तर, भ्रमणको चर्चा हुनु र भ्रमण निश्चित हुनु फरक कुरा हुन् । औपचारिक घोषणा नभएसम्म मितिलाई अन्तिम मान्न मिल्दैन ।

अब अर्थमन्त्री स्वर्णिम वाग्लेको कुरा गरौँ । केही समयअघि उनी भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा दिल्ली पुगेका थिए । त्यस क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर, सरकारी अधिकारी, उद्योगी–व्यवसायी र विकास नीतिसम्बन्धी विज्ञहरूसँग संवाद गरेका थिए । भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग, व्यापार, पारवहन, ऊर्जा, लगानी र पूर्वाधार विकासजस्ता विषय छलफलका मुख्य एजेन्डा थिए ।

त्यसपछि वाग्ले ’एनडीटीभी वल्र्ड समिट’मा सहभागी भए । त्यस क्रममा उनले ‘नेपालमा भारतविरोधी भावनासँग जोड्ने युग अब समाप्त भइसकेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।

मन्त्री वाग्लेको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भयो । प्रतिपक्षी दलहरूले मात्र होइन, समाजका प्रतिष्ठित व्यक्तिहरूले समेत यस अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । तर, वाग्लेले भारतप्रति दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएको यो पहिलो पटक होइन, यसअघि पनि बारम्बार यस्ता विवाद उत्पन्न भइरहेका छन् । त्यसबारे भने कुनै छुट्टै एपिसोडमा चर्चा गरौँला ।

यता, रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई भने दुई चरणमा बुझ्नुपर्छ । गत जेठमा उनी पाँच दिने भ्रमणका क्रममा दिल्ली पुगेका थिए । जहाँ उनलाई भव्य स्वागत गरिएको थियो । उनको स्वागतलाई लिएर प्रधानमन्त्रीसरहको हैसियत दिइएको भन्दै चर्चासमेत भयो । त्यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नितिन नवीनलगायत शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । यो मुख्यतः पार्टीस्तरको राजनीतिक भ्रमण थियो ।

तर, त्यसको चार महिनापछि उनको अर्को भारत भ्रमण भयो । असोज ६ देखि ९ गतेसम्म भएको यो भ्रमणलाई भने निजी तथा पारिवारिक भ्रमण भनियो । जेलमा छँदा गरेको भाकल पूरा गर्न भारत गएको दाबी गर्दै उनले यसलाई राजनीतिक भ्रमणका रूपमा नबुझ्न आग्रह गरेका थिए ।

तर, जेलबाट निस्किन भारतकै मन्दिरको भाकल गनुपर्ने कस्तो विडम्बना ? के नेपालमा मठमन्दिर थिएनन् र ? कि अब प्रधानमन्त्री बन्न पाउँ भनेर फेरि अर्को भाकल गर्न भारत पुगेका हुन् ? अहिले यस्ता प्रश्नहरू उठेका छन् । फेरि, रवि जे बोल्छन् त्यही गरिहाल्ने नेता पनि कहाँ हुन् र ? नत्र त यतिबेलासम्म कामको खोजीमा विदेशिएका आधा नेपालीलाई देशमै फर्काइसक्थे। उनले बोलेका कुरा पूरा गर्ने नै भए, भाकल पूरा गर्न भारत होइन, नेपालीहरूलाई स्वदेश फर्काउन अस्ट्रेलिया र अमेरिकाका गल्लीगल्लीमा पोस्टर टाँस्न पुग्थे होला ।

भारतसँगको सम्बन्ध विस्तारको कुरा गर्दा परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि छुटाउन मिल्दैन । उनले गत चैत्रमा भारत भ्रमण गर्दा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका थिए । व्यापार, आर्थिक सहकार्य, ऊर्जा, जलस्रोत र सम्पर्क सञ्जालका विषय छलफलमा परेका थिए । पछि संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा पनि जयशंकरसँग भेट हुँदा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे कुराकानी भएको थियो ।

अब फेरि सुरुकै प्रश्नमा फर्कौँ– के रास्वपाभित्र रवि र बालेन पक्षबीच भारतलाई कसले बढी रिझाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ ? अहिले नै यही हो भनेर ठोकुवा गर्न मिल्दैन । तर, शंका गर्ने ठाउँ चाहिँ प्रशस्तै छन् । रवि र बालेन पक्षबीच आपसी सम्बन्ध पनि राम्रो छैन, जुन कुरा हामीले यसअघि नै चर्चा गरिसकेका छौँ । त्यसैले, एकै समयमा पार्टी र सरकारका प्रभावशाली नेताहरू भारतसँग सक्रिय सम्पर्कमा देखिँदा राजनीतिक चासो बढ्नु स्वाभाविक हो ।

एउटा कुरा भने स्पष्ट छ– भारतसँग सम्बन्ध सुधार्नु नेपालको आवश्यकता हो । भौगोलिक निकटता, व्यापार, पारवहन, ऊर्जा, रोजगारी र सुरक्षा सबै हिसाबले भारत नेपालका लागि महत्त्वपूर्ण छिमेकी हो । तर, भारतसँग नजिकिनु भनेको केवल भारतलाई खुसी पार्नु मात्रै होइन, नेपालको राष्ट्रिय हित सुरक्षित गर्नु पनि हो ।

दिल्लीमा कसले कसलाई भेट्यो भन्ने कुराले मात्रै देशको हित हुँदैन । ती भेटबाट व्यापारमा सहजता आयो कि आएन ? नेपाली उत्पादनले भारतीय बजारमा अवसर पायो कि पाएन ? ऊर्जा व्यापारमा नयाँ बाटो खुल्यो कि खुलेन ? सीमासम्बन्धी समस्या समाधानतर्फ प्रगति भयो कि भएन ? बाढीपछिको पुनर्निर्माणमा ठोस सहयोग जुट्यो कि जुटेन ? रवि हुन् वा बालेन, स्वर्णिम हुन् वा सुधन, शिशिर हुन् वा कुमार बेन, जसले भारतसँग सम्पर्क विस्तार गरे पनि त्यसको मूल्याङ्कन उपलब्धिका आधारमा हुनुपर्छ । किनभने, भारतसँग भेटघाट हुनु आफैँमा उपलब्धि होइन । भारतसँग सम्बन्ध सुधार्दै नेपालको हित सुरक्षित गर्नुचाहिँ वास्तविक कूटनीतिक परीक्षा हो । र, रवि–बालेन पक्ष भारतलाई रिझाउन प्रतिस्पर्धा गरिरहेका छन् कि छैनन् भन्ने चाहिँ आगामी दिनहरूले नै देखाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्