Logo
Logo

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरु…


4.7k
Shares

काठमाडौं । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए, काठमाडौं बनस्थलिका मानसिंह विष्ट ।

उमेर साढे आठ दशक । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्ने अवस्था पनि छैन ।

निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए ।

‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्यो’ किसनले सुनाए ।

आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ । तर, दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनलाई मन मानेन ।

‘छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ’ मानसिंहले गहभरी आँशु पार्दै भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।’

०००

स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिनभन्दा विमानस्थलमा चाप कम थियो ।

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ ।

विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैँमा हृदयविदारक दृश्य भन्दा फरक थिएन ।

०००

धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् ।

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन ।

उनको काका नै प्रमुखको उम्मेदवार छन् । ‘देशभित्र रोजगारी छैन, खानु पर्यो परिवार पाल्नु पर्यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन’, सामान्य झोला भिरेका यादवले भने, ‘म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।’

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर संघीय राजधानी उत्रेका यादवले कुराकानीका क्रममा मलिन सुनिए ।
उनको गला अवरुद्ध भइरहेको थियो ।

‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता ।’ पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्नछन् ।

उनको अपेक्षा– विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए असाध्यै खुसी हुन्थे ।

कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ । खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफू जस्तै विदेश जान आएकाको भीडमा ।

०००

एउटै समूहमा भेटिए– मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर ।

बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने– ‘निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।’

बहराइनमा पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भने– ‘निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।’

तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा गुडाइरहेका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्व देश विकासमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको छैन ।

भन्छन– ‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नी । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरु जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।’

‘देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन’ मगरले भने ।

झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ ।

ट्रली धकेल्दै भने– ‘निर्वाचन भनेर भएन । हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन् । प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल छ ।’

सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ ।

व्यवस्था परिवर्तन भयो । नागरिकले संघर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उनको आपत्ति छ ।

०००

बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमा नै राहदानी छाडेर विमानस्थल पुगेछन् ।

समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)का टोलीलाई विमानस्थलमा देखेपछि उनले सोधे– तपाईंहरु सरकारी कर्मचारी हो ?

राससको टेलीले भन्यो– हामी कर्मचारी होइनौँ, पत्रकार हौँ ।

त्यसपछि उनले पीडा सुनाए–

झोला खोतल्दै एक पार्टीको स्टिकर निकाले । तर, राजनीतिक नेतृत्वप्रति गुनासो गर्न छाडेनन् ।

राहदानी नै नभइ विदेश उड्न पाइएला त ? उनको जिज्ञासा थियो ।

राससकर्मीले राहदानी नभइ विदेश उड्न नपाइने बतायो । र, उनको राहदान छुटेको होटलको नम्बर पत्ता खोजिदियो ।

होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क भएका पौडेलले पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको सुनाए ।

०००

विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए ।

देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि खुसी देखिँदैनथ्यो । निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए ।

दुखित मन लिएर उड्नेहरु कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशीने रहर भने कसलाई पो होला र ?

प्रतिक्रिया दिनुहोस्