पाल्पा । निर्वाचन आयोगको लापरबाहीका कारण पाल्पाको तानसेन नगरपालिका-३ का सूर्यलाल गुभाजु मतदान गर्नबाट वञ्चित भएका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदान केन्द्र पुगेका ७७ वर्षीय गुभाजु भोट हाल्नबाट वञ्चित भएका हुन् ।

उनले २०७४ सालको निर्वाचनमा तानसेन-३ को मतदान केन्द्रबाटै मतदान गरेका थिए । यसपटक पनि उनी आफूले रोजेको जनप्रतिनिधिलाई भोट हाल्न मतदानकेन्द्र पुगेका थिए । तर, ‘यो परिचयपत्रको नम्बरको नाम छैन’ भनेर आफूलाई भोट हाल्न नदिएको गुभाजुले बताए ।
मतदाता सूचीमा नाम नभेटिएपछि चकित उनले भने, ‘पहिलादेखि मैले यहीँबाट भोट हाल्दै आएको थिएँ, ०७४ मा पनि यहाबाटै हालेको हुँ, तर अहिले नामै छैन भन्छन्, भोट हाल्ने मेरो अधिकार हनन् भयो ।’
निर्वाचन आयोगबाट जारी भएको उनको मतदाता परिचयपत्र नम्बर ४१६३४१४ छ भने क्रम संख्य १८६७ रहेको छ ।
निर्वाचन अधिकृतलाई जानकारी गराउँदा त्यो विषय आयोगले हेर्ने भएकाले आफूले केही गर्न नसक्ने बताएको उनको भनाई छ ।














