Logo
Logo

एमालेको गढ भत्काउँदै डोटीको दिपायलमा कांग्रेस विजयी


1.5k
Shares

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिँह खड्का र उपमेयरमा कलावती महर निर्वाचित भएका हुन् ।

यहाँ नेपाली कांग्रेसले २५ वर्षपछि जित हासिल गरेको हो । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो । त्यसबेला कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । तर, त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमाएको थियो । त्यो बेला एमालेका पूर्णराज जोशी निर्वाचित भएका थिए ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेकी उम्मेदवार मञ्जु मलासी विजयी भए । जसमा कांग्रेसबाट अहिले निर्वाचित खड्का नै उनीसँग पराजित भएका थिए । त्यसपछि दिपायललाई एमालेको गढका रुपमा हेरिँदै आएको थियो ।

मेयरमा खड्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले कुल ५ हजार १३८ मत प्राप्त गर्दा एमालेका मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

मेयरमै नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा लडेका नेकपा माओवादी केन्द्रका खगेन्द्रबहादुर साउँदले १ हजार ९८३ मत मात्रै प्राप्त गरे ।

यस्तै, मेयरकै उम्मेदवारहरू राप्रपाका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

९ वटा वडा रहेको नगरपालिकाका वडाध्यक्षहरूमा कांग्रेस ५ र एमाले २, माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार जितेका छन् । कांग्रेसबाट वडा नम्बर १ मा कृष्णबहादुर साउँद, ३ मा नारायण साउँद, नम्बर ५ मा गणेशबहादुर भण्डारी, वडा नम्बर ८ मा दशरथ बलायर र वडा नम्बर ९ मा हर्कबहादुर साउँद निर्वाचित भएका छन् ।

यस्तै एमालेबाट वडा नम्बर ६ मा नरेश मलासी र वडा नम्बर ७ मा कर्णबहादुर विष्ट निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट वडा नम्बर ४ मा अशोक कुमार सोप निर्वाचित भएका छन् । वडा नम्बर २ मा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्