Logo
Logo

अघिल्लो निर्वाचनमा जोसँग हारे, यसपटक उनैलाई हराए


23.6k
Shares

काठमाडौं । भनिन्छ– १२ वर्षमा खोला पनि फर्कन्छ । तर, राजनीतिमा १२ वर्ष कुर्नु पर्दैन ।

हामीले अवलम्बन गरेको व्यवस्थामा राजनीतिक नेतृत्व हरेक पाँच वर्षमा जनताबाट अनुमोदित हुनुपर्छ । यस अर्थमा राजनीतिमा खोला फर्कन १२ वर्ष कुर्नु पर्दैन । पाँच वर्ष पर्खे पुग्छ ।

इलामको सुदूरपश्चिमी गाउँ माङसेबुङ गाउँपालिकामा पाँच वर्षमै खोला फर्कियो । पहिलो निर्वाचन हारेकाहरुले दोस्रो निर्वाचनमा पहिलोमा हराउनेहरुलाई हराए ।

०००

२०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचन हुँदा चार युवा माङेबुङलाई नेतृत्व गर्न मैदान उत्रे ।

इलाम सदरमुकाममा नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका डिकेन्द्र इदिङ्गो र पाँचथर–इलामको सिमाना चिसोपानी पञ्चमी बजारमा शिक्षण तथा व्यवापारसँगै राजनीति गर्दै आएका हेमन्त राई अध्यक्ष पदका मुख्य दावेदार थिए ।

इलाममै कांग्रेसको राजनीति हुँदै तत्कालीन संघीय समाजवादी फोरम पार्टीमा आइपुगेका विनोद नेम्बाङ र माङसेबुङको लारुम्बा क्षेत्रमा एमालेको आधारभूम राजनीतिक कर्ममा जोडिएका सुनिता सुब्बा उपाध्यक्षका दावेदार थिए ।

निर्वाचनका दौडमा सबै उम्मेदवार प्रथम हुने कुरा हुँदैन । ०७४ को निर्वाचनमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार डिकेन्द्र इदिङ्गो निर्वाचित हुँदै प्रथम भए । पराजित एमालेका उम्मेदवार हेमन्त राई दोस्रो मात्र भए । अरु प्रतिस्पर्धाजस्तो राजनीतिमा दोस्रोका लागि पुरस्कार हुँदैन । हेमन्तका लागि ०७४ को निर्वाचन यस्तै रह्यो ।

राजनीतिमा लामो अनुभव संगालेका विनोद नेम्बाङका लागि पनि परिणाम उस्तै भयो । राजनीतिका सिकारु उम्मेदवार सुनिता सुब्बासँग पराजित भए । अर्थात, उपाध्यक्षको प्रतिस्पर्धामा विनोद पनि दोस्रो मात्र भए । उनले पनि सहानुभूतिभन्दा अरु इनाम पाउने कुरा भएन ।

०७४ को रोचक पक्ष
०७४ को निर्वाचनमा रोचक पक्ष के भने– नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच तालमेल थियो । कांग्रेसका डिकेन्द्र अध्यक्ष र ससफोका विनोद उपाध्यक्षका उम्मेदवर थिए ।

परिणाम भने तालमेलको आधारमा आएन । सर्वाधिक ३७५९ मतसहित डिकेन्द्र अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा विनोदले २७७१ मत मात्र प्राप्त गरे । उक्त मत जितका लागि पुग्दो भएन ।

कांग्रेस–ससफो गठबन्धनको परिणाम मात्र अनपेक्षित थिएन । एमालेको परिणाम पनि उस्तै आयो ।

हेमन्त र सुनिता एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार थिए । सुनिता २९८१ मतसहित उपाध्यक्ष निर्वाचित हुँदा हेमन्त ३१५१ मत पाउँदै पराजित भए ।

०००

निर्वाचन परिणामपछि गाउँपालिका सम्हाल्न पुगेका डिकेन्द्र र सुनिताले जनप्रतिनिधिको रुपमा लय समाते । बाटोघाटो, पुलपुलेसोदेखि मठमन्दिर उद्घाटन र पुजाँदेखि अनेक काममा व्यस्त भए ।

सुनिएका कतिपय नराम्रा कामलाई एकछिन वास्ता नगर्ने हो भने, संवैधानिक अधिकारका कारण अध्यक्ष र उपाध्यक्षबीच बेला–बेला हुने स्वभाविक खटपट बाहेक, अध्यक्ष निर्वाचित भएपछि डिकेन्द्रको फोन नै नउठाउने समस्यामा बाहेक माङसेबुङमा डिकेन्द्र र सुनिताबाट नराम्रो खबर सुन्नु परेन । अनि राम्रो काम पनि त्यति धेरै देखिएन ।

लमसममा अध्यक्ष र उपाध्यक्षको रुपमा डिकेन्द्र र सुनिताले पाँच वर्ष व्यवस्ततामै बिताए ।

०००

डिकेन्द्र र सुनिता जनप्रतिनिधिको रुपमा व्यस्त हुँदा हेमन्त र विनोदको जीवनमा अनेक फेरबदल भए ।

यसबीचमा हेमन्तको पार्टी नेकपा माओवादीसँग एकता गरेर सबैभन्दा ठूलो पार्टी भयो । सँगै विभाजन भएर निर्वाचनसम्म आइपुग्दा सबैभन्दा कमजोर भयो ।

विनोदको पार्टी पनि एकता हुँदै ससफोबाट जसपा भयो । जसपा पनि विभाजन भएर खुम्चियो ।

हेमन्त मुख्यतः झापाको दमकलाई आधार बनाएर व्यापारमा व्यस्त भए । दमकमा हेमन्तको तयारी पोशाकको व्यापार छ । विनोदले गाउँमा कृषिदेखि झापातिरका अनेक व्यापार सम्हाले ।

दुवैको व्यापार झापा केन्द्रित थियो । माङसेबुङको सबैभन्दा नजिकको व्यापारिक केन्द्र भएकाले पनि दुवैलाई अधिकांश समय त दमकमै भेटिन्थे ।

तर, गाउँका हरेक सुःखदुःखमा हेमन्त र विनोद दुवै गाउँमै भेटिन्थे । यत्तिकैमा पाँच वर्ष बित्यो । अर्को निर्वाचन आयो ।

०००

पाँच वर्षपछि कथा दोहोरियो । माङसेबुङ गाउँपालिकालाई नेतृत्व गर्न अघिल्लो निर्वाचनकै उम्मेदवार अघिल्लै पदमा मैदान उत्रे ।

एमालेको कम्पोजिसन उस्तैजस्तै थियो । विभाजनको सामान्य प्रभावबाहेक । तर, कांग्रेस–जसपा (तत्कालीन ससफो)को कम्पोजिसन फेरियो ।

यसपटक सत्तारुढ गठबन्धनका रुपमा माओवादीको मत पनि थपियो । उम्मेदवार भने उनै । तर, यसपटक परिणाममा ‘उलटफेर’ भयो ।

०७९ को रोचक
अघिल्लो पटक अध्यक्ष पदमा हेमन्त पराजित हुँदा सुनिता उपाध्यक्ष निर्वाचित भएका थिए । यसपटक हेमन्त अध्यक्ष निर्वाचित हुँदा सुनिता उपाध्यक्षमा पराजित भए ।

विपक्षीको परिणाम पनि उस्तै भयो । अघिल्लोपटक डिकेन्द्र अध्यक्ष निर्वाचित हुँदा विनोद उपाध्यक्षमा पराजित भएका थिए । यसपटक डिकेन्द्र अध्यक्षमा पराजित हुँदा विनोद उपाध्यक्षमा निर्वाचित भए । अर्थात, अघिल्लो निर्वाचनमा हेमन्त र विनोद जोसँग हारे, यसपटक उनैलाई हराए ।

अब, माङसेबुङको नेतृत्व हेमन्त र विनोदले सम्हाल्नेछन् । समयले देखाउँला, पाँच वर्षमा विजयी सपना साकार पारेका हेमन्त र विनोदले माङसेबुङबासीको सपना साकार पार्न सक्छन् कि सक्दैनन् !

प्रतिक्रिया दिनुहोस्