
पूर्वी रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुममा ‘क्लिन स्वीप’को इतिहास दोहोर्याएको छ । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको माओवादीले यसपटक पनि ‘क्लिन स्वीप’ गरेको हो ।
पूर्वी रुकुमका तीन गाउँपालिका मध्ये तीनै पालिकाको प्रमुख मओवादीले जितेको छ भने एक पालिकाको उपाध्यक्ष भने गुमाएको छ ।
पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीका पुनीराज घर्ती ३९१३ मतसहित अध्यक्ष निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगर २११३ मत प्राप्त गर्दै पराजित भए ।
त्यसैगरी, उपाध्यक्ष पनि माओवादीले जितेको छ । माओवादीका उपाध्यक्ष उम्मेदवार भूपेन्द्रा बुढा ४०५९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलाकुमारी मल्ल २०१० मत प्राप्त गर्दै पराजित भए ।
त्यसैगरी, भूमे गाउँपालिकामा पनि माओवादी विजयी भएका छन् ।
माओवादीका अध्यक्ष उम्मेदवार होमप्रकाश श्रेष्ठ ३९७५ मतसहित निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार रतनबहादुर बुढा ५०३ मत प्राप्त गर्दै पराजित भए ।
भूमेमा माओवादीले उपाध्यक्ष पनि जितेको छ । माओवादीका उपाध्यक्ष उम्मेदवार सविना बुढा ३९५१ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका कमानसिंह डाँगी क्षेत्री १३५५ मत प्राप्त गर्दै पराजित भए ।
भूमेमा विप्लव नेतृत्वको नेकपा र नेकपा एमालेबीच तालमेल भएको थियो । अध्यक्ष पराजित रतनबहादुर विप्लवका नेता हुन् ।
अर्को पालिका सिस्ने गाउँपालिकामा पनि माओवादी नै विजयी भएको छ ।
माओवादीका अध्यक्ष उम्मेदवार कृष्ण रेग्मी ३७७९ मतसहित निर्वाचित हुँदा प्रमुख प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनको तर्फका कांग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेत ३७०० मत प्राप्त गर्दै पराजि भए ।
सिस्नेको उपाध्यक्ष भने माओवादीले गुमाएको छ । उपाध्यक्षमा माओवादीका उम्मेदवार आस्था विक ३४७४ मतसहित पराजित हुँदा कांग्रेस–एमाले गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार गोपाल रेउले ३७६१ मतसहित निर्वचित भए ।
अघिललो निर्वाचनमा माओवादीले पूर्वी रुकुमका सबै पालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । यसपटक भने एक उापध्यक्ष गुमाएको छ ।











