
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अधिकांश गाउँपालिकाको मतगणना सम्पन्न भयो । अहिले, नगरपालिकाहरुको मतपरिणाम धमाधम आइरहेको छ ।
गाउँपालिका र नगरपालिकाको तुलनामा जनघनत्व धेरै हुने उपमहानगरपालिकाहरुको गणना मध्य चरणमा पुगेको देखिन्छ । पूरा मतपरिणाम आउन केही दिन लाग्ने छ ।
देशभरका ११ उपमहानगर मध्ये दाङको तुलसीपुर, घोराही र बाराको कलैया उपमहानगरमा नेकपा एमाले अग्रता लिएको छ । बुटवल, नेपालगन्ज, इटहरी र कांग्रेसले अग्रता लिएको छ ।
त्यसैगरी, जितपुर सिमारा माओवादी र हेटौंडामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । बाँकी तीन उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, धरान उपमहानगर हर्कराज राई र जनकपुर उपमहानरमा मनोजकुमार साह सुडीले अग्रता लिएका हुन् ।
धरानमा हर्कराज राईले गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार किशोर राईलाई पछि पार्दै अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार हर्कले ८ हजार १४० मत पाएका छन् ।
मुख्य प्रतिस्पर्धीको रुपमा गठबन्धनका किशोरले ८ हजार १२६ मत पाएका छन् । हर्क र किशोरबीच धेरै मतको अन्तर छैन । धरानमा एमाले भने तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ७१३ मत पाएका छन् ।
त्यसैगरी, धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने दोब्बरभन्दा फाराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन् ।
मुख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वडले हमालभन्दा आधा कम अर्थात ५ हजार ८९२ मत पाएका छन् । धरानमा जस्तै धनगढीमा पनि एमाले भने तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार रणबहादुर चन्दले हालसम्म २ हजार ७५२ मत पाएका छन् ।
त्यस्तै, जनकपुर उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले पछिल्लो मतपरिणाम अनुसार ४ हजार ४६६ मत पाएका छन् ।
यहाँ भने गठबन्धनभन्दा धेरै मत एमालेका उम्मेदवारले पाएका छन् । एमालेका उम्मेदवार शिवशंकर साहले हालसम्म ३ हजार २३ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साह १ हजार २११ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
ठूलो जनघनत्व भएका पालिका भएकाले जारी गणनाकै आधारमा परिणाम कसको पक्षमा जान्छ भन्न सक्ने अवस्था छैन । तर, राजनीतिक दलका अगाडि स्वतन्त्र उम्मेदवार बलियो देखिएका छन् ।














