काठमाडौं । नेकपा एमालेले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको छ ।
बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए ।
ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले– ‘अरू पार्टीका कारण होइन यसपटक एमालेमा अन्तरघात भयो । यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ, चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं । भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन ।’
ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए । उनले भने, ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ ।’
वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ ।
एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै जितेको छ ।











