
काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचनबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरू निर्वाचित भइसकेका छन् ।
संविधानतः यसरी निर्वाचित भएका सबै गाउँ/नगरसभाका सदस्य हुन् । अब यी सदस्यले कार्यपालिका गठन गर्नेछन् । कतिपयमा धमाधम गठन भइरहेको छ । गाउँ/नगर कार्यपालिकालाई स्थानीय सरकारको मन्त्रिपरिषद् मानिन्छ । यसको निर्वाचन गाउँ/नगरसभाले गर्छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । वडाअध्यक्ष स्वतः कार्यपालिकाको सदस्य हुन्छन् ।
यो बाहेक निर्वाचित महिला वडा सदस्यबाट ४ जना र दलित वा अल्पसंख्यक सर्वसाधारणबाट २ जना गाउँ कार्यपालिकाका सदस्य हुन्छन् । उनीहरूका लागि चाहीँ निर्वाचन गर्नुपर्छ । जसमा अध्यक्ष उपाध्यक्ष वडाअध्यक्ष र वडा सदस्यले पतदान गर्न पाउँने व्यवस्था छ । उनीहरूलाई निर्वाचक मण्डल पनि भनिन्छ ।
उदाहरणका लागि दोलखाको विगु गाउँपालिकाको कार्यउपालिकामा अध्यक्ष, उपाध्यक्ष, ८ वडाका वडाध्यक्ष, ४ महिला सदस्य र २ दलित वा अल्पसंख्यक सदस्य गरी १६ जना सदस्य रहन्छन् । त्यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेन रुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् । नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको निर्वाचक मण्डलले महिला वडा सदस्यबाट ४ जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट ३ जना निर्वाचित गरेपछि सो नगर कार्यपालिकाको निर्वाचन सम्पन्न हुन्छ ।
जस्तै, ताप्लेजुङको फुङलिङ नगरकार्यपालिकामा प्रमुख, उपप्रमुख, ११ वडाका अध्यक्ष, ५ महिला सदस्य र ३ दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा २१ जना सदस्य हुन्छन् । नगरपालिका भन्नाले उपमहानगरपालिका र महानगरपालिका पनि बुझिन्छ ।











