काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा जित सुनिश्चित गरेका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहका समर्थकले विजयी जुलुस निकाल्ने तयारी गरेका छन् ।
मतगणना नसक्दै बालेन विजयी भइसकेका छन् । तर, मतगणना कार्य सकेपछि मात्र उनीले विजयी जुलस निकाल्ने भएका छन् । अब तीन वटा वडामा मात्र मतगणना गर्न बाँकी रहेकाले आजै विजयी जुलुस निकाल्ने तयारी गरिएको छ ।

साहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन् । मतपरिणाम घोषणा भएको केही समयपछि राष्ट्रियसभा गृहबाट सुरु हुने जुलुस भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालिमाटीबाट कलंकी पुग्ने उनले बताएका छन् ।
उनका अनुसार जुलुस कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा पुगेर समापन हुनेछ ।
साहको समूहले आफुलाई पायक पर्ने समय र स्थान मिलाएर व्यक्तिगत वा सामूहिक रुपमा जुलुसमा सहभागी हुन सकिने पनि जनाएको छ ।
साहले बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफ्नो पक्षमा विजयी जुलुस नकिाल्न आग्रह गरेका थिए । बरु धन्यावाद र्याली निकाल्न भनेका थिए । त्यसैले साहका समर्थकले परिवर्तनका पक्षमा मतदान गर्ने र समर्थन गर्नेहरुलाई धन्यवाद दिनका लागि जुलुस आयोजना गरिने पनि बताएका छन् ।
धन्यवाद र्याली सभ्य हुने बताइएको छ । र्यालीमा कसैलाई गाली नगर्ने बताइएको छ । ‘सभ्य र अनुशासित किसिमले हामी ¥यालीमा सहभागि हुनेछौँ। कसैको विरोध गर्ने वा गिज्याउने गर्ने छैनौँ,’ साहका समर्थक कार्कीले फेसबुकमा लेखेका छन् ।











