
काठमाडाैं । हिमपात भएपछि मनाङमा औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ । मौसम प्रतिकुल भएपछि यार्सागुम्बा संकलन गर्न खर्कमा पुगेका संकलक फर्किएका हुन् ।
भारी हिमपात भएपछि फर्किएको धादिङका मिलन तामाङले बताए । ‘भ्राताङ लेकमा हिउँ परेपछि वेंसी झरेका छौं । ठेक्कामा काम गर्न गएका थियौं । मौसमले दिएन ।’ नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेको धादिङ रिहीका एक्का तामाङले बताए ।
‘एक दिन पैदलयात्रा गरेर यार्सागुम्बा खोज्न मनाङ आएका हौँ । लेकमा बसेको डेढ महिना भयो । यार्सा ठेकेदारले लिने र ४ जनाका लागि साढे ४ लाख खर्च गरेको छ’, उनले भने । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङले सुनाए । भने, ‘ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा ४ सय रुपैयाँ दिन्छ ।’
केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा संकलन गर्ने समय हो । केहीमा असार पहिलो हप्तासम्म गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् । यो मौसमलाई औषधिजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ ।
जसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा संकलन इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ ।
जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत हो । संकलनका लागि बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् ।











