
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपराधिक समूहको लागि स्वर्णभूमि बन्दै गएको छ । विमानस्थलभित्र विभिन्न समूहले सुन र डलरमात्र होइन मान्छे तस्करी समेत गरिरहेका छन् ।
एकातर्फ यस्तो धन्दामा एयरपोर्टका कर्मचारीकै मिलेमतो देखिएको छ भने अर्काेतर्फ पटक–पटक विमानस्थलभित्र हुने यस्ता अवैध काममा सम्लग्न गिरोहका नाइकेलाई राज्यबाटै संरक्षण भइरहेको छ । जसले देशको राष्ट्रिय सुरक्षामै जोखिम बढाएको छ ।
पछिल्लो पटक विमानको शौचालय प्रयोग गरी सुन तस्करी हुने घटनाले विमानस्थलभित्र कुन हदको लापरबाही छ भन्ने उदांगो भएको छ ।
गत १५ वैशाखमा हिमालय एयरलाइन्सको शौचालयमा लुकाई तस्करी गरिएको दुई किलो तीन सय ३२ ग्राम सुन बरामद भएको थियो । सो घटनामा संलग्न चार जना पक्राउ परेपनि तस्करीका योजनाकारहरु भेटिएका छैनन् ।
यति ठूलो घटनाका नाइके पत्ता लगाउन नसक्नुले प्रहरी र विमानस्थलस्थित भन्सार कार्यालयको क्षमता मात्र होइन नियतमाथि समेत प्रश्न उठेको छ ।
पक्राउ परेका अभियुक्तले चुणामणि उप्रेती ‘गोरे’ समूहसँग मिलेर आफूहरूले सुन तस्करी गर्दै आएको लिखित बयान दिएका छन् । गोर तिनै व्यक्ति हुन् जसले पाँच वर्षसम्म विमानस्थलभित्र एयरलाइन्सका कर्मचारीदेखि प्रहरीसम्मलाई प्रभावमा पारेर अवैध धन्दा चम्काएका थिए ।
अहिले जेलमा रहेका गोरेले फेरि पनि सुन तस्करी गरिरहेको हुनसक्ने आशंका गरिएको छ । तर, भन्सार कार्यालयले नाइकेमाथि अनुसन्धान नगर्दा यसमा धेरै जनाले उन्मुक्ति पाउने जोखिम छ ।
दुबईबाट आएको हिमालय एयरलाइन्सको शौचालयमा रहेको डस्टबिनमा लुकाई सो समूहले सफाइ कर्मचारीमार्फत विमानस्थलबाट सुन तस्करी गराउँदै आएको थियो । त्यसरी तस्करी गरेको आरोपमा विमानमा सफाइको जिम्मा पाएको सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिका तीन कर्मचारी पक्राउ परेका थिए ।
ड्युटी सकेर विमानस्थलभित्रबाट निस्कँदै गर्दा चेकजाँच गर्ने क्रममा भीमकुमार माबो र सुमन तामाङको पर्समा सुन भेटिएको थियो । पूर्व योजनाअनुसार नै उनीहरुले यसरी सुन लुकाएर पास गराउने प्रयास गरेका थिए । उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीको पनि यसमा मिलेमतो रहेको आशंका गरिएको छ । चौधरी पनि हाल थुनामै छन् ।
सुन रिसिभ गर्न पुगेका गिरोहका सदस्य राजेश राई तथा ट्याक्सी चालक हेमबहादुर थापालाई पक्राउ गरी मुद्दा चलाइएको छ । उनीहरु पनि तस्करी समूहका तल्लो तहकै व्यक्ति हुन । पक्राउ परेका राईले आफूहरूले अन्य व्यक्तिको निर्देशनमा त्यसरी सुन तस्करी गरेको बयान दिएका छन् ।
राई विगतमा विमानकै सफाइ कर्मचारी हुन् । सुनमा धेरै पैसा देखेपछि पछि उनी जागिर छाडेर सुन ओसारपसारमा सक्रिय भएका थिए । उनीमाथि विस्तृत अनुसन्धान गर्दा यसमा संलग्न गिरोह नै पक्राउ पर्ने भएपनि भन्सारको अक्षमताले फेरि पनि नाइकेहरु जोगिएका छन् ।
भन्सारले कमजोर अनुसन्धान गरी सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । एक करोड रुपैयाँ भन्दा धेरै बिगो भएको मुद्दामा भन्सारले फैसला गर्न पाउँदैन । सोही कारण अदालतमा मुद्दा दायर गरिएको हो ।
यस्तो घटनामा संगठित अपराध ऐनअनुसार ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । भन्सारका कर्मचारीसँग अनुसन्धानको विस्तृत अनुभव नहुने भएकाले उनीहरुले प्रहरीको सहयोग लिन सक्छन् ।
संगठित अपराध आकर्षित हुने अवस्थामा प्रहरीले नै अनुसन्धान गर्न समेत पाउँछ । तर, यसमा भने भन्सारले त्यसतर्फ चासो नै नदिई फितलो अनुसन्धान गरेर मुद्दा पन्छाएको छ । जसले विमानस्थलमा संगठित रुपमा सुन तस्करी गर्दै आएको गिरोहका नाइकेहरु हौसिएका छन् ।
कतिसम्म भने कसले सुन ल्याएको थियो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । दुबईबाट आएका यात्रुले सो सुन विमानको शौचालयमा राखेको बताइएको छ । विमानभित्र सिसिक्यामेरा हुने भए पनि उड्ययन सुरक्षासम्बन्धी बाहेकमा सिसिक्यामेरा फुटेज उपलब्ध नहुने जानकारी गराएको भन्दै त्यसतर्फ अनुसन्धान नै गरिएन । जबकी अन्य प्राविधिक अनुसन्धानबाट सो कुरा पत्ता लाग्न सक्थ्यो ।
पक्राउ परेकाले विगतमा पनि त्यसरी आफूहरुले सुन तस्करी गरेको बताएका थिए । तर, कहिले र कति सुन तस्करी भयो भन्नेतर्फ पनि अनुसन्धान गरिएको छैन । जसकारण सो समूहले फेरि पनि यसैगरी विमानस्थलबाट सुन तस्करी गर्ने जोखिम बढेको छ ।
बारम्बार घटना, सचेत भएन विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक कर्मचारीकै मिलेमतोमा गम्भीर प्रकृत्तिका घटना हुँदै आएका छन् । तर, नागरिक उड्डन कार्यालय र सुरक्षा निकायले चेतेको छैन ।
गत फागुनमा अध्यागमनकै कर्मचारी सुन तस्करीमा संलग्न रहेको खुलेको थियो । अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई दुई महिनाअघि १ किलो १ सय ६५ ग्राम तस्करीको सुनसहित प्रहरीले पक्राउ गरेको थियो । त्यो घटनामा पनि नाइकेहरू जोगिएका थिए ।
दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन नासु गुरागाईंले विमानस्थलबाट पास गराइदिएका थिए । उनले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयमा सो सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए ।
सुराकीका आधारमा प्रहरीले विमानस्थलकै आगमनतर्फको टनेलमा घिमिरेलाई नियन्त्रणमा लिई सुन बरामद गरेको थियो । त्यसअघि पनि उनले त्यसरी नै सुन पास गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेपनि विस्तृत अनुसन्धान नै हुन सकेन ।
विमानस्थलमा विभिन्न किमिसका अवैध धन्दामा संलग्न गिरोहहरु सक्रिय छन् । त्यसमा विमानस्थलका प्रहरी, अध्यगमन, भन्सार तथा एयरलाइन्सका कर्मचारीसँग साँठगाँठ छ । सुन तस्करी, डलर तस्करी तथा मानव तस्करीमा समेत गिरोहरु सक्रिय छन् ।
प्रारम्भिक अनुसन्धानमा भिजिट भिसादेखि सुन तस्करीमा एउटै समूहको सेटिङ देखिएको छ । गत फागुनमा सुनसहित पक्राउ परेका घिमिरे पटक–पटक भिजिट भिसामा दुबई जाने र सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ ।
अध्यागमन कर्मचारीसँगैको मिलेमतोमा उनी त्यसरी सहजै विदेश जाने गरेका थिए । एकजना कर्मचारीको मात्र मिलेमतोमा यसरी भिजिट भिसामा सेटिङ सम्भव नभएकाले यसमा अन्य कर्मचारीसमेत संलग्न भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । तर, कर्मचारी फस्ने भएकाले त्यसतर्फ अनुसन्धान भएन ।
अध्यागमनमा सेटिङ
अध्यागमन कर्मचारीको मिलेमतोमा हजारौँ व्यक्ति खाडी तथा मलेसिया गएर त्यहाँ अलपत्र परेको विषयमा छानबिन भइ कारबाही सिफारिस भएको थियो । त्यसमा अध्यागमनको पनि कमजोरी औंल्याइएको थियो ।
सन् २०२१ मा मात्र एक लाखभन्दा धेरै नेपाली भिजिट भिसामा खाडी तथा मलेसिया गएका थिए । तर, त्यो सेटिङमा संलग्न केही कर्मचारीलाई सरुवा गर्ने बाहेक कारबाही हुन सकेन ।
यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो । जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो ।
त्यस्तै, ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुल्यो । त्यसमा एयरलाइन्स र प्रहरी कर्मचारी नै पक्राउ परेपनि धन्दा रोकिने आँकलन गरिउको थियो । तर, त्यसो हुन सकेन ।
विगतमा भन्सारका कर्मचारीसँगको सेटिङ हुनेमा हाल अध्यागमन कर्मचारीसँग तस्करहरूले साँठगाँठ गरेको खुलेको छ । प्रहरीका कर्मचारी मिल्ने आशंकामा उनीहरूलाई ड्युउटीको समयमा मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ ।
अध्यागमन कर्मचारीलाई पनि ड्युउटीमा निजी मोबाइल बोक्न रोकिएपछि नासु गुरागाईंले कसरी सेटिङ मिलाए खुल्न सकेको छैन । अझै करारमा काम गर्ने सफाई लगायतका कर्मचारीलाई प्रयोग गरी अपराधिक गतिविधि हुने जोखिम अझै बढेको छ ।
विमानस्थलमा बारम्बार सुरक्षा त्रुटि
९ फागुनमा एक युवक सुरक्षा जाँचलाई चुनौती दिँदै विमानस्थलको पश्चिमतर्फको कम्पाउन्डबाट छिरेर विमानभित्रै पुगे । रौतहटका अस्फाम आलम नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेपछि मात्र पत्ता लागेको थियो ।
सो विषयमा गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । तर, कसैलाई पनि कारबाही भएन ।
घटनामा पेरिमिटरको सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेना तथा विमानस्थलभित्रको सुरक्षा हेर्ने नेपाल प्रहरीको प्रत्यक्ष कमजोरी देखिएको थियो । बोर्डिङ पासविना नै ती व्यक्ति विमानभित्र प्रवेश गर्नुमा नेपाल एयरलाइन्सको पनि कमजोरी प्रस्ट छ ।
त्यस्तै, १८ भदौमा बुद्ध एयरलाइन्सका दुई यात्रु चार किलो सुनसहित नेपालगन्ज पुगे । काठमाडौंको विमानस्थलको चेकिङमा उक्त कुरा पत्ता लागेको थिएन । नेपालगन्ज विमानस्थलमा पुगेपछि पत्ता लागेको थियो । त्यसपछि त्रिभुवन विमानस्थलमा यात्रुलाई जुत्तासमेत खोल्न लगाएर चेकिङ हुने गरेको छ ।
त्यसपछि अध्यागमन र सफाइ कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको प्रष्ट भयो । तैपनि विमानस्थलभित्र सिष्टम सुधारको काम हुन सकेको छैन । यसलबाट नेपालको विमानस्थलमा अपराधिक समूहको रजगज रहेको प्रष्ट हुन्छ ।











