
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको स्वीकार गरेका छन् ।
पछिल्लो समय नेकपा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गर्दै एमाले–माओवादी गठबन्धनको प्रस्ताव गरेको हल्ला चलिरहेको बेला प्रचण्डले प्रधानमन्त्रीको अफर आएको बताएका हुन् ।
बिहीबार अनलाइनखबरले प्रचण्डसँग लामो अन्तवार्ता गरेको छ । अन्तवार्तामा अनलाइनखबरले ‘अहिले तपाईंलाई एमालेबाट प्रधानमन्त्री बन्ने अफर आएको हो ?’ भनेर प्रश्न गरेको छ ।
उक्त प्रश्नको जवाफमा प्रचण्डले भनेका छन– ‘नआएको होइन, प्रत्यक्ष–परोक्ष कुराहरू आइरहेकै छन् । तर म एकदम क्लियर छु, अहिले प्रधानमन्त्रीको रेसमा छैन, जसरी हिजो पनि थिइनँ । वाम गठबन्धनको बेलामा पनि मलाई अफर आउँदा सरी ! अहिले प्रधानमन्त्री हुन्न भनेको हुँ । अहिले पनि भन्न आउनेलाई धन्यवाद, तर सरी भनिराख्या छु ।’
प्रधानमन्त्रीको अफर अस्वीकार गरेको बताउँदै प्रचण्डले वर्तमान गठबन्धनबाटै अघि बढ्ने र वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा संघ र प्रदेशको निर्वाचन हुनेसमेत बताएका छन् ।
आफूले विकास र स्थायित्व नै चाहेको बताउँदै प्रचण्डले वर्तमान गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि एमालेले वर्तमान गठबन्धन भत्काउने नीति अघि सारेको छ । सोही नीति अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
ओलीले प्रस्ताव गरे पनि प्रचण्ड र माधव दुवै अहिलेसम्म प्रधानमन्त्रीकै लागि कांग्रेससँगको गठबन्धन ताडेर एमालेसँग गठबन्धन बनाउने पक्षमा छैनन् । बिहीबार मात्रै माधव नेपालले ‘प्रलोभनमा पर्दिनँ, गठबन्धन कायम रहन्छ’ भनिसकेका छन् ।











