काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो ।
पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वाग्मती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
बैठकमा गठबन्धनभित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढंगले छलफल गरिएको उनले बताए ।














